क्रान्ति केन्द्र सम्वाददाता
नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि हासिल गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एसीसी प्रीमियर कपको फाइनल खेलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि हासिल गरेको हो ।
पहिले ब्याटिङ गरेको यूएईले ३३ ओभर १ बलमा सबै विकेट गुमाएर नेपाललाई १ सय १८ रनको लक्ष्य दिए।
जवाफी ब्याटिङमा आएको नेपालले ३० ओभर ३ बलमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य हासिल गर्न सफल भए । नेपालका लागि गुलसन झा र भिम सार्कीले अविजित ९६ रनको साझेदारी गरेका थिए । झाले ८४ बलमा ६७ रन बनाए भने सार्कीले ७२ बलमा ३६ रन बनाए ।
त्यस्तै, नेपालका कुशल भूर्तेल १, आसिफ शेख ८ र कप्तान रोहितकुमार पौडेल १ रनमा आउट भएका थिए । यूएईका लागि रोहन मुस्ताफाले २ र आयन अफजल खानले १ विकेट लिएका थिए ।
सोमबार वर्षाले खेल स्थगित गरेपछि मंगलबार खेललाई निरन्तरता दिइएको थियो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भई खेल अवरुद्ध हुन पुगेको थियो ।
त्यही स्कोरबाट खेल्न सुरु गरेको यूएई ५.४ ओभरमात्र टिक्न सके र टोलीले ११ रन थप्यो । अघिल्लो दिनको खेलको अन्तिम दुई बलमा लगातार विकेट लिएका ललित राजवंशीको ह्याट्रिक बललाई जुनाइद सिद्धिकीले रोकेका थिए ।
उनै सिद्धिकीले ललितको बलमा एउटा छक्का पनि प्रहार गरे । उनै ललितले सिद्धिकीलाई १० रनमा लङ अनमा कुशल भुर्तेलबाट क्याच गराई यूएईको इनिङ्सको अन्त्य गरे । ललितले ७ विकेट लिए । उनले ७ ओभर १ बलमा २ मेडन राख्दै १४ रन खर्चे ।
यो जितसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा छनोट भएको छ ।