क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित प्रथम मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको रुपनी गाउँपालिकाले उपाधी हात पारेको छ । शनिबार भएको फाइनल खेलमा रुपनी गाउँपालिकाले २७ रनले छिन्नमस्ता गाउँपालिकालाई पराजित गर्दै उपाधी हात पारेको हो ।
टस जितेर ब्याटिङ्ग गरेको रुपनी गाउँपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २०४ रनको विशाल योगफल तयार पारेको थियो । जसमा रुपनीका ईमरान शेखले विष्फोटक ब्याटिङ्ग गर्दै ३५ बलमा ४ छक्का र ६ चौकाको मद्तले सर्वाधिक ६१ रन बनाएका थिए । यसैगरी विकास दासले ३७ बलमा १ छक्का र ४ चौकाको मद्तले ४३ रन, विक्की चौधरीले २३ बलमा ३७ रन, अरनिको यादवले २२ रन तथा राशिद खानले ७ बलमा एक छक्का र ३ चौकाको मद्तले १८ रन बनाएका थिए ।
छिन्नमस्ता गाउँपालिकाका लागि फिरदोस अन्सारी र दिपेश कँडेलले २/२ विकेट लिए भने उपेन्द्र रायले १ विकेट लिए ।
जितको लागि २०५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा छिन्नमस्ता गाउँपालिकाको टिमले कमजोर शुरुवात गरेको थियो तर छिन्नमस्ता गाउँपालिकाको टिम निर्धारित २० ओभरमा १७७ रन मात्र बनायो ।
छिन्नमस्ता गाउँपालिकाका लागि रेवति रायले ३३ बलमा ४ छक्का र ३ चौकाको मद्तले अविजित ४८ रन बनाए भने गुणानन्द रायले २० बलमा ३ छक्का र १ चौकाको मद्तले २८ रन बनाएका थिए ।
यसैगरी सिद्धान्त लोहनीले २७, फिरदोश अन्सारीले १६ र रवि रायले १३ रनको योगदान गरे ।
रुपनी गाउँपालिकाकालागि सुनिल धमला र अशोक मेहताले ३/३ विकेट लिए भने अशोक यादवले २ विकेट लिँदै आफ्नो टिमलाई प्रथम मेयर कपको उपाधी दिलाउन सफल भए । विजेता रुपनी गाउँपालिकाले नगद एक लाख रुपैयाँ तथा ट्रफी पुरस्कार पाएका छन् भने उप विजेता छिन्नमस्ता गाउँपालिका टिमले नगद ५० हजार र ट्रफी पुरस्कार पाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका छिन्नमस्ता गाउँपालिकाका फिरदोश अन्सारीलाई म्यान अफ द सिरिज, तिलाठी कोइलाडीका अमित मण्डललाई बेस्ट ब्याट्सम्यान र सोही गाउँपालिकाका दिपेश सरदारलाई बेस्ट बलरको पुरस्कार प्रदान गरियो ।
समापनको अवसरमा प्रदेश सभा सदस्य सकिल अली, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझी, प्रमुख प्रशासकीय अधिकृत हरि मोहन सुतिहार, सशस्त्र प्रहरी नायब निरीक्षक दिनेश श्रेष्ठ, वडा अध्यक्षहरु मौली मण्डल र साकिर अली खानसहितकाले पुरस्कार वितरण गरेका थिए ।