क्रान्ति केन्द्र सम्वाददाता
एसीसी मेन्स प्रिमियर कपमा नेपाल समूह ’ए’ को विजेता बनेको छ । बिहीवार भएको खेलमा संदीप लामिछानेको आलराउण्ड प्रदर्शनले कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो ।
नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको कतार २५ ओभर १ बलमा ८९ रन बनाउँदा अलआउट भयो । कतारका जहीर इब्राहिम र खुर्रम शहजादले समान १५/१५ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल ४० ओभर ३ बलमा १ सय ५७ रनमा अलआउट भयो । नेपालका स्पिनर सन्दीप लामिछानेले सर्वाधिक नटआउट ४२ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले २७ रन बनाए । कतारका आमिर फरूकले ४ र ओइस अहमदले ३ विकेट लिए ।
नेपाल ४ खेलमा ७ अङ्कसहित समूह विजेता बनेको हो । नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट, दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो भने तेस्रो खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो ।
सेमिफाइनल शनिवार हुनेछ । यस्तै फाइनल सोमवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।