क्रान्ति केन्द्र सम्वाददाता
हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा तिलाठी कोइलाडी गाउँपालिकाले विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न दुई खेलमा तिलाठी कोइलाडीले कञ्चनरुप नगरपालिकाको टिमलाई ९१ रनले र रुपनी गाउँपालिकाको टिमले हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिमलाई ४ विकेटले पराजित गरेको छ ।
पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गरेको तिलाठी कोइलाडीको टिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७९ रन बनाएको थियो । जसमा अमित मण्डल र साकेत सिंहले विष्फोटक बल्लेबाजी गर्दै अर्धशतक प्रहार गरेका थिए । अमितले ४३ बलमा ५ छक्का र ५ चौकाको मदतले सर्वाधिक ६४ रन बनाए भने साकेत सिंहले ४९ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै ५० रन बनाए । अन्तिमतिर ब्याटिङ्ग गरेका विकास दास(पोलार्ड) ले १६ बलमा दुई छक्का र एक चौकाको मद्तले अविजित २१ रन बनाए । यसैगरी ओपनर रोहन विश्वकर्माले विष्फोटक बल्लेबाजी गर्दै १५ बलमा ३ छक्का र ४ चौकाको मद्तले ३५ रनको योगदान दिए ।
कञ्चनरुपका लागि असलम शेख, मुकेश सिंह, मुकेश रौनियार र उमेश चौधरीले समान १/१ विकेट लिएका थिए ।
जितको लागि १८० रन पछ्याउने क्रममा तिलाठी कोइलाडीका कप्तान दिपेश सरदारको घातक बलिङ्ग सामु निरीह सावित हुँदै कञ्चनरुपको टिम १५ ओभर ४ बलमा ८८ रनमा अलआउट भयो ।
दिपेश सरदारले ४ ओभरमा १३ रन खर्चेर ६ विकेट लिए भने विकास दास र रोविन सिंहले २/२ विकेट लिए । कञ्चनरुपका लागि महानन्द यादवले सर्वाधिक ४८ रन बनाए भने मदन चौधरीले १४ रन बनाउनु बाहेक कुनै पनि खेलाडी दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । उक्त खेलमा तिलाठी कोइलाडीका दिपेश सरदारलाई म्यान अफ द म्याचको ट्रफी हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले प्रदान गरे । यसैगरी ६ विकेट लिए वापत वडा नं. ४ का वडा अध्यक्ष मौली कुमार मण्डलले बल प्रदान गरे ।
दोस्रो खेलमा रुपनी गाउँपालिकाको टिमले हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिमलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको ब्लु टिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ११३ रन जोडेको थियो । ३४ रनमा ५ विकेट गुमाएको अवस्थामा ब्लु टिमका कप्तान दिपक भुजेलले शानदार बल्लेबाजी गर्दै ४ छक्का र ४ चौकाको मद्तले ३५ बलमा अविजित ५५ रन बनाएपछि ब्लु टिमले सम्मानजनक स्कोर बनाउन सक्यो । ब्लु टिमका लागि अमित मण्डलले १६ तथा दुर्गा मण्डलले १२ रन बनाउनु बाहेक कुनै पनि खेलाडि दोहोरो अंक बनाउन सकेनन्
रुपनी गाउँपालिकाको टिमका लागि विकास दास र इमरान शेखले २/२ विकेट लिए भने राशिद खान, सुनिल धमला र अशोक मेहताले १/१ विकेट लिए ।
जितको लागि ११४ रनको लक्ष्य रुपनी टिमले १६ ओभर ३ बलमा ६ विकेट गुमाई हासिल गर्यो । रुपनीका लागि विकास दासले सर्वाधिक ४२ रन बनाए भने राशिद खाले विष्फोटक बल्लेबाजी गर्दै १२ बलमा ४ छक्का र १ चौकाको मद्तले ३३ रन बनाए । यसैगरी महेश माझीले १८ रनको योगदान दिंदै आफ्नो टिमलाई जिताउन सफल भए ।
हनुमाननगर कंकालिनी ब्लु टिमका लागि त्रिभुवन मण्डल र सुजित मण्डलले २/२ तथा रविन यादवले १ विकेट लिए । रुपनी टिमका स्टार बल्लेबाजहरु सुनिल धमला र इमरान शेख आ आफ्नो पहिलो बलमै आउट भए । उक्त खेलमा रुपनीका विकास दासलाई म्यान अफ द म्याच प्रदान गरियो ।
विहिबारको पहिलो खेल तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको रेड टिमबीच तथा दोस्रो खेल छिन्नमस्ता गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिम बीच हुने हनुमाननगर कंकालिनी नगरपालिकाका सूचना प्रविधि अधिकृत अमित पाठकले जानकारी दिए ।