क्रान्ति केन्द्र | एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि सानदार जित निकालेकाे छ । शुक्रवार भएकाे खेलमा नेपालले ओमानलाई ८४ रनले हरायाे ।
नेपालले दिएकाे ३ सय ११ रनकाे विशाल लक्ष्य पछ्याएकाे ओमानले ४६ ओभर ३ बलमा दुई सय २६ रनमा अलआउट भयाे । ओमानका ब्याटर अकिब इलियास घाइते हुँदै क्रिजमा नआई रिटायर्ड आउट भएपछि नेपाल विजयी भएकाे थियाे । ओमानका लागि माेहम्मद नदीमले ६५ र सन्दीप गाेदले ४६ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय १० रन बनायाे । नेपालका लागि कुशल मल्लले कीर्तिमानी शतक बनाए । उनले ६४ बल खेल्दै १० छक्का र ९ चाैकाकाे मद्दतमा १ सय ८ रन जाेडे । यस्तै साेमपाल कामीले नटआउट ६३ र करण केसीले नटआउट २९ रन बनाए । ओमानका आयन खानले २ विकेट लिए ।
आजकाे खेलमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी याेगफल बनाएकाे छ । यसअघि नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ मा घरेलु मैदानमै भएकाे पीएनजीसँगकाे खेलमा दुई सय ९७ रन बनाएकाे थियाे ।
यस्तै आजकाे खेलमा नेपालका स्पिनर सन्दीप लामिछानेले दुर्लभ कीर्तिमान बनाएका छन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे १ विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ४२ खेलमा याे कीर्तिमान बनाएका हुन् ।
याे जितसँगै समूह ‘ए’ मा रहेकाे नेपालले दुई खेलमा चार अङ्क जाेडेकाे छ । नेपाल तालिकाकाे शीर्ष स्थानमा यथावत् छ ।
एसीसी प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।