क्रान्ति केन्द्र सम्वाददाता
राजविराजस्थित सप्तरी जिल्ला कारागारका एक जना कैदीको बिहिबार राति मृत्यु भएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका महदेवा गाउँपालिका- ३ का ५४ वर्षीय कैदी मिथिलेश यादवको खुट्टा सुन्निएपछि उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
खुट्टा सुन्निएपछि बिहिबार दिउँसो उनलाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको उनको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो ।
उनी पाँच वर्ष कैद भई २०७७ साल चैत ११ गतेदेखि कारागारमा कैद भुक्तान गरिरहेका थिए ।