श्रवण वत्स
सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरहीपुरस्थित थान पोखरीमा राष्ट्रिय स्तरको क्रिकेट खेल मैदान निर्माण तथा विस्तारको तयारी थालिएको छ । केन्द्र सरकारको ६/७ करोडको सहयोगमा निर्माण हुने सो खेल मैदानका लागि चाहिने आवश्यक जग्गा लगायतका सामग्रीहरु विषयमा बुधबार छलफल भएको छ ।
छलफलमा खेल मैदानको लागि चाहिने १ सय ५० मिटर जग्गा मध्ये १ सय मिटर उपलब्ध रहेको तथा ५० मिटर ऐलानी जग्गा मध्येबाट उपलब्ध गराउने पक्षमा सबै जना सकारात्मक रहेको छिन्नमस्ता स्पोर्टस क्लबका अध्यक्ष रवि रायले बताए ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको सहयोगमा सो खेल मैदानको डिपिआर समेत केन्द्र सरकारलाई पठाईसकेको उनले बताए ।
गाउँपालिका अध्यक्ष चौधरीको सहयोगमा मैदानमा भएको खाल्डो पुर्ने लगायत कामहरु भईरहेको रायले जानकारी दिए ।
युवाहरु खेलका लागि तत्पर हुँदा पनि राष्ट्रिय स्तरको खेल मैदान नभएर तिनीहरुको दिन–दिनै मनोवल घटदै गएको अध्यक्ष रायले बताए । खेल मैदानको लागिका गाउँपालिका अध्यक्ष चौधरीले सहयोग गरेकोमा क्रिकेट प्रेमीयुवाहरुमा पुनः मनोवल बढेको अध्यक्ष रायले बताए ।
गाउँपालिका अध्यक्ष चौधरीले भने अहिले अवस्थामा खेल, स्वास्थ्य दृष्टिकोणले, मनोवैज्ञानिक दृष्टिकोणले र सामाजिक दृष्टिकोणले समेत आवश्यक रहेको छ । जतिकै शिक्षामा ध्यान दिनु पर्छ, त्यतिकै नै खेलकुदमा पनि समेत ध्यान दिन आवश्यक रहेको छ ।’
छलफलमा कार्यपालिका सदस्य तिर्थ नारायण राय, पूर्व वडा अध्यक्ष विनोद यादव, वडा सदस्य विन्देश्वर शर्मा, छिननमस्ता स्पोर्ट्स क्लव अध्यक्ष राय, समाजसेवी हरिकिसुन राय, जुगल राय, धर्मलाल राय, शिक्षक मनोज राय, विजय राय, सुधाकर राय, शंकर राय लगायत बरही विरपुरका दर्जनौं स्थानीयहरुको उपस्थिति रहेको थियो ।