क्रान्ति केन्द्र सम्वाददाता
प्रेस चौतारी नेपाल सप्तरी शाखाका कार्यसमिती सदस्य तथा पब्लिक प्रेस दैनिकका प्रकाशक नवीन कुमार यादवमाथि भएको दुर्व्यवहारको प्रेस चौतारी सप्तरीले निन्दा गरेको छ ।
समाचार लेखेकै कारण तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले गालिगलौज गर्दै अभद्र व्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस चौतारी नेपालले दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।
बुधबार प्रेस चौतारी सप्तरीका अध्यक्ष डम्बर राईद्वारा जारी विज्ञप्तिमा सार्वजनिक पद धारण गरेको ब्यक्तिबाट सार्वजनिक स्थानमा पत्रकारलाई धाकधम्की दिनुलाई सिङ्गो सञ्चार जगतलाई दबाउन खोजेको रुपमा लिएको उल्लेख छ । विज्ञप्तिमा सञ्चार र सञ्चारकर्मीको काम, कर्तब्य तथा मान मर्यदालाई ख्याल नगरी अध्यक्ष मण्डलले पत्रकारलाई “किन समाचार लेखेको ? कस्लाई सोधेर लेखेको ?” भन्दै अस्लिल शब्द प्रयोग गरेर तथानाम गाली गरेको बताइएको छ ।
राजविराजबाट नियमित प्रकाशन हुँदै आएको पब्लिक प्रेस दैनिकको बैशाख २ गतेको अंकमा “पटक पटकको ग्याङ्ग फाइट्ले स्थानिय आजित” शिर्षकको समाचार प्रकाशन भएको थियो । सोही विषयलाई लिएर पत्रकार यदवलाई अध्यक्ष मण्डलले बोलाएर सार्वजनिक स्थानमा धम्क्याएका थिए ।
सञ्चार र सञ्चारकर्मीलाई जे गरे पनि हुन्छ भन्ने सोचाइबाट ग्रसित देखिएका अध्यक्ष मण्डललाई कानूनी दायरामा ल्याउन अध्यक्ष राईले सम्बन्धित पक्षसङ्ग आग्रह गरेका छन् । विज्ञप्तिमा नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई दोषीलाई पक्राउ गराएर पिडितलाई उचित न्याय दिलाउन आवश्यक पहलका लागि अनुरोध समेत गरिएको छ ।