श्रवण वत्स
मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाईँदै छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ । यस पर्वलाई नेपालका तराई क्षेत्र लगायत छिमेकी देश भारतका हिन्दुबासीहरुले सिरूवा पर्व भनी मनाउने गरेका छन् । जुडशीतलमा घरपरिवार तथा गाउँका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्ने चलन रहेको छ ।
बढ्दो गर्मी र लगातार बढ्दो तातो हावाबीच सुुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा जुडशीतल मनाइने मैथिल परम्परा छ । नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वले गर्मीमा शीतल गर्ने मान्यता छ ।
वैशाख सङ्क्रान्ति अर्थात् नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व सुरु हुन्छ । यस पर्वलाई घरको ज्येष्ठ सदस्यबाट दीर्घजीवनको आशीर्वाद लिंदै पर्व मनाउने चलन छ । यस पर्वलाई मिथिलाञ्चलमा दुई दिन मनाइने परम्परा छ । पहिलो दिन (सङ्क्रान्तिका दिन) सतुवाइन र भोलिपल्ट अथवा आजका दिनलाई जुडशीतल भनिन्छ । उल्लास र सोहार्दको प्रतीक मानिने यो पर्वले मिथिलाञ्चल लगायत तराई क्षेत्रका बासीहरुले मनाउने चलन छ ।
मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । फलतः यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवं उल्लेखनीय मानिन्छ । जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित रहेको छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल भन्ने गरिन्छ ।
पहिलो दिन (वैशाख सङ्क्रान्ति) चना (बदाम), जौं, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, व्राह्मण र साधुलाई दान गरिन्छ । बढ्दो गर्र्मीमा शरीरमा शीतलता दिने चना, मुँग र जौँका परिकार यस पर्वमा विशेष मानिन्छन् । यसलाई बोलीचालीमा सतुवाइन पर्व पनि भन्ने गरिन्छ ।
त्यसैगरी दोस्रो दिन आज घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै यो पर्व मनाइने चलन छ । परम्पराअनुसार आज घर–घरमा परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल (पानी दिई शीतलता र दीर्घजीवनको आशीर्वाद दिईने गर्छन ।
सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिलहरू (मिथिलावासी) साथीसाथै धुलो माटो र हिलो छ्यापाछ्याप गर्छन् । जुडशीतल पर्वमा आफ्नो खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । दोस्रो दिन घरका परिवारजन आफ्नो खेतबारी डुल्छन् ।
मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ । खासमा यो पर्व कृषिसँग सम्बन्धित रहेको पाका मैथिल बताउँछन् । बढ्दो गर्मीबीच शीतल जोड्न गरिने कामना पर्वको मुख्य उद्देश्य भएको हुँदा यो पर्वलाई जुडशीतल भनिएको मैथिल परम्परा र संस्कृतिका जानकार पुर्व प्राआध्यापक अखिलेश्वर झाले बताए ।