क्रान्ति केन्द्र सम्वाददाता
सवारी दुर्घटनामा परेर दुई महिनादेखि उपचाररत रहेकी सप्तरीकी एक महिलाको आइतबार उपचारकै क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सुरुङ्गा नगरपालिका-३ भेरियाकी ५४ बर्षीय गोमा कुमारी दाहाल रहेकी छिन् ।
गत माघ २९ गते सुरूङगा नगरपालिका -३ स्थित कदमाहदेखि गाईघाट जाने सडक खण्डमा प्र २-०१-००१ त २४४६ नम्बरको ट्र्याक्टरले उनलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन् ।
दुबै खुट्टा र टाउकोमा चोट लागेको उनलाई तत्कालै उपचारको लागि माँ धमिनि अस्पताल लहान सिरहा पठाइएको थियो । त्यसपछि सुस्मा मेमोरियल अस्पताल साखु काठमाण्डौँमा उपचार गराई रहेकै क्रममा उनको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।