प्रवेश कुमार बाबुल
सप्तरीको राजविराजबाट हरवाचरवाहरुले अधिकार पुनर्स्थापनाको लागि पाँच दिने यात्रा थालेका छन् ।
साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले हरवाचरवा प्रथा मुक्ति भएको घोषणा गरेपनि मुक्ति घोषणा भएको नौ महिनासम्म पनि लागु हुन नसकेकोले पुनर्स्थापनाको माग गर्दै उनीहरूले शनिबारबाट मधेश प्रदेशको राजधानी जनकपुरधामसम्मको अधिकार यात्रा थालेका हुन् ।
हरवाचरवाको बस्तीमा शिक्षा, स्वास्थ्य, सडक, बिजुली, शुद्ध खानेपानी, विद्यालय, सिँचाईसहितको एकिकत बस्ती विकास योजना लागु, हरेक वडाबाट हरवाचरवाको तथ्याङ्क संकलनको सुरुवात, राष्ट्रिय भुमि आयोगको कार्यविधिमा हरवाचरवाको अलग पहिचान, हरवाचरवाको लागि रोजगारको सुनिश्चितता लगायतका माग उनीहरूको रहेको राष्ट्रिय हरवाचरवा अधिकार मंचका केन्द्रिय महासचिव लागेन्द्र सदाले बताए ।
यात्रा राजविराजदेखि रुपनी शम्भुनाथ, कदमाह चोक, लहानहुँदै चैत २९ गते जनकपुरधाम पुग्ने उनले जानकारी दिए । उता पर्साको बिरगंजबाट पनि हरवाचरवाहरुको यात्रा जनकपुरधामको लागि आज नै निस्केको उनले बताए । मधेश प्रदेशका सबै जिल्लाबाट जनकपुरधाममा ५ हजार भन्दा बढी हरवाचरवा उपस्थिति हुने योजना रहेको उनले बताए ।
यात्राबाट वडादेखि पालिका हुँदै प्रदेश सरकार र केन्द्र सरकारको हरवाचरवाको मागमा ध्यानाकर्षण गराउन चाहेको उनीहरूले बताए । तीनै तहका सरकारले हरवाचरवाको लागि गर्न सक्ने काम छिटोभन्दा छिटो गरुन भने उनीहरुको उदेश्य रहेको छ ।