क्रान्ति केन्द्र सम्वाददाता
जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरेको पत्रकार महासंघ सप्तरीले जनाएको छ । मंगलबार शाखाका सचिव रामनारायण विश्वासले जारी गरेको प्रेस विज्ञप्तिमा संविधान प्रदत अधिकारलाई लत्याउँदै सप्तरी प्रहरीले मंगलबारका दिन समाचार संकलनमा राजविराजस्थित जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकारलाई अवरोध पुर्याएको जनाइएको छ ।
समाजलाई सु–सुचित गर्ने अधिकार बोकेका पत्रकारलाई घटना सम्बन्धी यर्थात जानकारी प्रहरीले नगराउनु स्वतन्त्र प्रेसमाथि हस्तक्षेप रहेको महासंघ सप्तरीको ठहर छ ।
‘जनता समाजवादी पार्टीका सप्तरी अध्यक्ष केदारप्रसाद यादवमाथि जिल्ला प्रहरी कार्यालयमै एक जना प्रहरी निरीक्षकबाट कुटपिट भएको सूचना प्राप्त हुनासाथ नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्री वैद्यनाथ यादव नेतृत्वको पत्रकारहरुको टोली समाचार संकलन गर्न जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर, निमित्त प्रहरी प्रमुख डिएसपी नरेशकुमार सिंहको आदेशमा पत्रकारलाई जिल्ला प्रहरी कार्यालय प्रवेशमा रोक लगाउँदै समाचार संकलनमा बन्देज लगाइएको छ ।’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘नेपालको संविधान २०७४ को प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरिएको भए तापनि सप्तरी प्रहरीको यो कदमले संविधानको समेत ठाडो उल्लघंन गरेको छ ।’
यस घटनाप्रति नेपाल पत्रकार महासंघ खेद व्यक्त गर्दै आगामी दिनमा यस्ता कदम नसच्याए प्रहरी विरुद्ध महासंघ संघर्षमा उत्रिन बाध्य हुने बताएका छन् ।
















