क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा खानेपानी गुणस्तर परीक्षण ल्याब स्थापना गरिएको छ । युनिसेफको सहयोगमा गाउँपालिकाले खानेपानीको गुणस्तर परीक्षण गर्न गाउँपालिकाको कार्यालयमा ल्याबको स्थापना गरेको हो ।
सो ल्याबको एक कार्यक्रमबीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव र वडा नं. १ का वडा अध्यक्ष दिनेश्वर मिश्र(मन्सुर बाबा) ले उद्घाटन गरेका छन् ।
ल्याब स्थापनाले पानीको गुणस्तर जाच्न र स्वच्छ खानेपानी खानुपर्ने भन्ने बिषयमा सचेत गराउनमा सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।
ल्याबबाट ईकोली, पिएच, आर्सेनिक, टर्बिडिटी, इलेक्ट्रीकल कन्डक्टिभिटी लगायतका ७ वटा जाँच सेवाहरु उपलब्ध हुने युनिसेफका खानेपानी सरसफाई स्वच्छ्ता कार्यक्रम अधिकृत अन्नपूर्णा मिश्रले जानकारी दिए ।
सो उद्घाटन कार्यक्रममा पानीको जाँच र यसको प्रक्रिया तथा प्रविधिका बारेमा गाउँपालिकाका खानेपानी सरसफाई तथा स्वच्छता(वास) कार्यक्रमका सम्पर्क ब्यक्ति किशोर कुमार झाले जानकारी दिए ।
सो अवसरमा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिपक मण्डल, कार्यक्रम अधिकृत राजेश कुमार झा, वास कार्यक्रमका जिल्ला संयोजक रोशन गुप्ता लगायतको सहभागिता रहेको थियो ।