क्रान्ति केन्द्र सम्वाददाता
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा वडा नं. ७ मन्सापुर र वडा नं. १ तिलाठीले जित हात पारेको छ ।
पहिलो खेलमा वडा नं. ७ मन्सापुरले वडा नं. २ लौनियाँलाई ८ विकेटले तथा दोस्रो खेलमा वडा नं. १ तिलाठीले वडा नं. ५ को. बर्साइनलाई २१ रनले पराजित गरेको छ ।
विहान सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको लौनियाँ मन्सापुरका बलर सामु निरीह सावित हुँदै ८ ओभर ४ बलमा ४५ रनमा अलआउट भयो ।
लौनियाका लागि मिथिलेश कुमार मण्डलले १४ रन बनाउनु बाहेक कुनै पनि ब्याट्सम्यान दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । मन्सापुरका लागि राज कुमार मण्डलले घातक बलिङ गर्दै ३ ओभर ४ बलमा ११ रन खर्चेर ६ विकेट लिए भने धिरज मण्डलले ३ तथा निरज कुमार मण्डलले १ विकेट हात पार्न सफल भएका थिए ।
जितको लागि ४६ रनको लक्ष्य पछ्याउने क्रममा मन्सापुर टिम ५ ओभर १ बलमा दुई विकेट गुमाई जित हात पार्न सफल भयो । मन्सापुरका लागि धिरज मण्डलले १४ तथा चेतन यादवले ११ रन बनाए । लौनियाकालागि रमानन्द मुखियाले २ विकेट लिए । उक्त खेलमा मन्सापुरका राजकुमार मण्डललाई गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले म्यान अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए ।
यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको तिलाठीले २० ओभरमा ९ विकेट गुमाई ९१ रन बनाएको थियो । जसमा मिथुन यादवले सर्वाधिक ३१ रन बनाए भने लक्ष्मी रायले १० रनको योगदान गरे । को. बर्साइनका लागि राजा रायले ४ ओभरमा ८ रन दिएर ४ विकेट लिए भने दिपेश सरदारले २ तथा राहुल रजक र राजेश रजकले १/१ विकेट लिए ।
जितको लागि ९२ रनको लक्ष्य पछ्याउने क्रममा वडा नं. ५ को. बर्साइन टिम १२ ओभर ४ बलमा ७० रनमा अलआउट भयो । को. बर्साइनका लागि सुभाष शर्माले सर्वाधिक २० रन बनाए भने राहुल रजकले ११ रन बनाए । अन्य खेलाडिहरु दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । तिलाठीका लागि शिव कामैतले उत्कृष्ट बलिङ गर्दै ३ ओभर ४ बलमा १४ रन दिएर ५ विकेट लिंदै आफ्नो टिमलाई विजयी गराए । तिलाठीका लागि चन्दन झा र कारी झाले २÷२ तथा सुनिल यादवले १ विकेट लिए । उक्त खेलमा तिलाठीका शिव कामैतलाई म्यान अफ द म्याच घोषित गरियो ।
प्रतियोगिता अन्तर्गत शुक्रबारको एकमात्र खेल वडा नं. ५ को. बर्साइन र वडा नं. वडा नं. ८ तोपा बीच खेल हुने प्रतियोगिता संयोजक ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।