क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ को. बर्साइन स्वास्थ्य चौकीमा नवनिर्मित वर्थिङ सेन्टरको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले एक कार्यक्रमबीच वर्थिङ सेन्टरको उद्घाटन गरेको हो ।
सो अवसरमा बोल्दै अध्यक्ष मण्डलले शिक्षा, स्वास्थ्य, कृषि र रोजगार आफ्नो प्राथमिकतामा रहेकोले आफू ती क्षेत्रहरुको विकासका लागि लागिपरेको बताए ।
वर्थिङ सेन्टरबाट सबै गर्भवति महिलालाई फाइदा पुग्ने बताउँदै अध्यक्ष यादवले सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाइने बताए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले कुनै पनि गर्भवति महिलालाई सेवा लिन टाढा जानु नपरोस् भन्ने उदेश्यले वर्थिङ सेन्टर सञ्चालन गरिएको बताउँदै यसबाट लाभ लिन आग्रह गरे ।
स्वास्थ्य संस्था भवन निर्माणका लागि जग्गा दिएका शिवरतन रजक, डम्बर रजक, अम्बर रजक, सम्मर नारायण रजक, नारायण रजक, सूर्यनारायण रजक, हरिनारायण रजक र देव नारायण रजकलाई सो अवसरमा सम्मान गरिएको थियो ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष ललन प्रसाद राउतको अध्यक्षतामा आयोजित सो कार्यक्रममा सेभ द चिल्ड्रेनका देवकृष्ण भगत, गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र झा, ब्यवस्थापन समितिका सदस्य देवराम शर्मा, स्वास्थ्य चौकी तिलाठीका प्रमुख दिपेन्द्र झासहितकाले शुभकामना ब्यक्त गरेका थिए ।
को. बर्साइन स्वास्थ्य चौकीका प्रमुख मनोज देवले स्वास्थ्य संस्था निर्माण पक्षको बारेमा जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा निर्मित सो वर्थिङ सेन्टरमा सेभ द चिल्ड्रेनमार्फत सेभ द सप्तरीको समेत सहयोग रहेको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिए ।