क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलकी एक महिलाले करेन्ट लगाएर आफ्नै श्रीमानको हत्या गरेको खुलासा भएको छ । ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधवार पत्रकार सम्मेलन गर्दै यस्तो खुलासा गरेको छ ।
स्थानीय कोशिलादेवी दासले आफ्नी देउरानी हिरनदेवी दास र नातामा पर्ने भाउजु शान्तिदेवी दासको सहयोगमा आफ्नै श्रीमान ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए ।
गत कात्तिक ६ गते आफ्नै घरभित्र शिवशंकरको हत्या भएको थियो । हत्यापछि कोशिलादेवीले आफ्नो पति शिवशंकरको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेपछि शंकाका आधारमा अनुसन्धान अघि बढाइएपछि सोही क्रममा तीनै जनालाई नियन्त्रणमा लिइएको थियो । पाँच महिनाको अनुसन्धानपछि उनको करेन्ट लागेर नभई करेन्ट लगाएर हत्या गरिएको खुलेको प्रहरी नायव उपरीक्षक रायले बताए ।
‘प्रहरी नियन्त्रणमा उनीहरूले दिएको बयानका आधारमा ऋणको रकम चुक्ता गर्न सो घटना घटाएको देखिन्छ’ नायव उपरीक्षक रायले भने ‘शिव शंकर र कोशिलादेवीले छोरीको विवाह गर्न र बीमा गराउनका लागि भाउजु नाता पर्ने शान्तीदेवीसँग ऋण लिएको थियो, ऋण चुक्ता गर्न शान्तीदेवीले कोशिला र शिवशंकरलाई तनाव दिँदै आएकी थिइन् ।’
शिवशंकर र कोशिलादेवीले ऋण तिर्न नसक्ने भएपछि शान्तीदेवीले नै शिवशंकरको मृत्युबाट आउने बीमा रकमबाट ऋण चुक्ता भएर अरु रकम बाँकी समेत रहने भन्दै हत्याको योजना तयार पारेकी थिइन् । योजनाअनुसार शान्तीदेवीले कात्तिक ५ गते शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर मताएकी थिईन् ।
मातेर घर पुगेका शिवशंकर भान्सा कोठामै सुतेपछि सुतेकै बेला कोशिलादेवीले शिवशंकरको बायाँ हातको साहिँली औंलामा तार बेरेर करेन्ट लगाइ हत्या गरेको वयान दिएकी प्रहरी नायव उपरीक्षक रायले जानकारी दिए । करेन्ट लगाउने कार्यमा देउरानी हिरनदेवीले उनलाई सहयोग गरेको थिइन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।