क्रान्ति केन्द्र सम्वाददाता
सप्तरी क्रिकेट संघसँगको समन्वयमा तिलाठी कोइलाडी गाउँपालिकाद्वारा मंगलबारदेखि सञ्चालित गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा वडा नं. १ तिलाठीले विजयी सुरुवात गरेको छ । तिलाठीले वडा नं. ८ तोपालाई ५२ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ्ग गरेको तिलाठीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो । जसमा शिव कामैतले चार छक्काको मद्तले ४६ बलमा ६१ रन बनाए भने आशिक मिश्रले २२, मुकेश यादवले १८ र राजकुमार यादवले १२ रन बनाएका थिए ।
तोपाका लागि भरत दासले २ तथा दिपेन्द्र मण्डल, सुनिल यादव र रविन्द्र मण्डलले १/१ विकेट लिए ।
जितकोलागि १५९ रनको लक्ष्य पछ्याएको तोपा टिमले २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सके । उनीहरुले पेनाल्टीको रुपमा पाँच रन थप पाएको थियो । तोपाका लागि भरत दासले सर्वाधिक १४ रन बनाए भने चन्द्र भुषण मण्डल, सुनिल यादव र धनराज मण्डलले समान १२/१२ रनको योगदान दिएका थिए ।
तिलाठीको लागि चन्दन झा, सुनिल यादव र कारी झाले २/२ विकेट लिए भने मिथुन यादव र शिव कामैतले १/१ विकेट हात पार्दै आफ्नो टिमलाई विजयी गराउन सफल भए । उक्त खेलमा वडा नं. १ तिलाठीका शिव कामैतलाई म्यान अफ द म्याचको पुरस्कार प्रदान गरिएको थियो ।
यसअघि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, ललनप्रसाद राउत र सत्यनारायण यादवले मन्तब्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रम गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले सञ्चालन गरेका थिए ।
प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो खेल वडा नं. २ लौनियाँ र वडा नं. ४ कोइलाडी बीच र दोस्रो खेल वडा नं. ३ सकरपुरा र वडा नं. ५ को. बर्साइनबीच हुने प्रतियोगिताका संयोजक ज्ञानेन्द्र कुमार यादवले बताए ।