प्रवेश कुमार बाबुल
स्थानीय सरकारको निगरानीले स्थानीय विद्यालयमा पठनपाठनको स्तर उच्च हुने आशा गरिएको थियो । तर शिक्षक बिना विद्यालय बर्ष भरी चल्दा कस्तो गुणस्तरको शिक्षा दिनसकिन्छ भने सहजै अनुमान लगाउन सकिन्छ ।
शैक्षिक सत्र २०७९ सम्पन्न हुन लागेको छ तर सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका अन्तर्गतका विद्यालयमा रहेको शिक्षकको अभाव पुरा हुनसकेको छैन् । शैक्षिक सत्रको सुरुवातदेखि नै शिक्षकको चरम अभाव खेप्दै आएका तिलाठीकोइलाडीका एकदर्जन भन्दा बढी विद्यालयहरु छन् । स्थानीयतहको नवनिर्वाचित जनप्रतिनिधिहरुले बिभिन्न मञ्चबाट पटकपटक शिक्षालाई प्राथमिकतमा राखेको भनिरहँदा पनि उनीहरुको कार्यकालको दशमहिना भन्दा बढी समय बितिसक्दापनि त्यस्तो अनुभूति गर्न नपाउनु दु:खद रहेको स्थानीय अभिवाककहरुको गुनासो छ ।
‘केटाकेटीहरु विद्यालय पढ्न जान्छन् तर कक्षा अनुरुप शिक्षकनै छैनन् भने के पढछन्,’ एकजना स्थानीय अभिभावकले भने ‘अन्तरिम परीक्षा हुने भएको छ तर बाध्यताबस पढाईको नाममा विद्यालय गएर समय मात्र बिताएका विद्यार्थीहरुले के लेख्न सक्लान् ।’
विद्यालयमा पठनपाठन नहुँदा चर्को शुल्क तिरेर निजि रुपमा ट्युशन पढाउने बाध्यता रहेको अभिभावकको भनाई छ ।
‘पैसा भएको भए त निजी विद्यालयमा पढाउन सकिन्थ्यो नि ,’ एकजना स्थानीय अभिभावकले भने ‘पैसा अभावमै त सरकारी विद्यालयमा भर्ना गरेको हो ।’
मंसिर २५ गते पालिकाले विभिन्न तह गरेर ४४ सिटमा स्वयंसेवक शिक्षक भर्नाको लागि विज्ञापन गरेको थियो । तर त्यसको साढे तीन महिना हुनलाग्दा पनि शिक्षक भर्ना सकिएको छैन् ।
गाउँपालिकाका शिक्षा संयोजक चन्द्रभुषण रायले संव्यसेवक शिक्षक छनौट परिक्षामा १० जना मात्र उतिर्ण हुन सकेको बताए ।
‘बाँकीसिटको लागि अब फेरि कार्यपालिकाको बोर्ड मिटिङ बसेर जे निर्णय गर्छ त्यसै अनुरूप हुने हो ।’ उनले भने ।