क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको खाँडो खोलामा जडान गरिएको समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली र यसबाट भारतीय क्षेत्रमा परेको प्रभावका बिषयमा सोमबार विहारको कुनौलीमा क्रस बोर्डर अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
इसिमोडको सहयोगमा सबल नेपालले आयोजना गरेको सो कार्यक्रम युनिसेफको आर्थिक सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाद्वारा ईसिमोड र सबल नेपालको प्राविधिक सहयोगमा जडान गरिएको पूर्व सूचना प्रणालीका बारेमा आयोजना गरिएको हो । खाँडो नदीको बाढीले कुनौली, कमलपुर र डंगमारा ग्राम पञ्चायतको वडाहरुलाई प्रभावित गर्दै आएको छ ।
सो कार्यक्रममा बोल्दै कुनौली ग्राम पञ्चायतका पूर्व मुखिया सत्यनारायण रजकले पूर्व सूचना प्रणालीले यस क्षेत्रमा धनमाल जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘पूर्व सूचना प्रणाली नहुँदा बाढी कतिखेर आउने हो हामीलाई थाहा नै हुँदैनथियो’ पूर्व मुखिया रजकले भने, ‘अब त करिब तीन घण्टा अगावै खबर आउँछ र हामी सबै सजग हुने गरेका छौं ।’
तीन वटै पञ्चायतको ५७ वटै वडामा वडा स्तरीय समिति गठन गरि विपद् जोखिम न्युनीकरण सम्बन्धी जागरण कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको पूर्व मुखिया रजकले भने ।
समुदायमा आधारित बाढी पूर्व सूचना प्रणालीबाट भारतको विहार राज्य अन्तर्गतका तीन वटा ग्राम पञ्चायतका बासिन्दालाई पनि अझ फाइदा पुर्याउन गर्नुपर्ने कार्यहरुको बारेमा अन्तरक्रिया गर्न तथा बाढी पूर्व सूचना प्रणालीलाई अझ ब्यवस्थित गर्न सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सबल नेपालका सिनियर म्यानेजर अशोक साहले बताए ।
कुनौलीको लोक भारती सेवा आश्रमको स्थानीय संयोजनमा आयोजना गरिएको सो कार्यक्रममा कुनौलीका मुखिया दिलिप कुमार रजकले पूर्व सूचना प्रणालीबाट धेरै मद्त पुगेको र यसलाई तीनवटै पञ्चायतमा ब्यवस्थित रुपमा सूचना प्रवाह गर्न आफूहरुले अझ मिहिनेत गर्ने बताए ।
सो कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली र यसले भारतीय क्षेत्रमा पारेको सकारात्मक प्रभावका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
लोक भारती सेवा आश्रमका सचिव पञ्चम नारायण सिंहको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कुनौली, कमलपुर र डंगमारा पञ्चायतका मुखिया, सरपञ्च तथा विपद् ब्यवस्थापनको क्षेत्रमा कार्यरत ब्यक्तिहरुको सहभागिता रहेको थियो ।