क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुरामा घरमै पसेर एक परिवारलाई कुटपिट गरेको छ । स्थानीय किशुन यादवकी पत्नी पचिया यादव, महिनारायण यादव, रोशन यादव, प्रकाश यादव र सीता यादव शुक्रबार दिउँसो घरमै पसेर ६२ वर्षीय वसन्त साहसहितकालाई कुटपिट गरेको पीडित परिवारले बताएको छ ।
कुटपिटबाट साहको छातीमा गम्भीर चोट लागेको र उनकी पत्नी विमलादेवीको मुख र दाहिने हातमा चोट लागेको छ । साहको विराटनगरस्थित गोल्डेन अस्पताल र विमलाको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए ।
कुटपिटबाट साहका ३० वर्षीय छोरा मदन साह र बुहारी २८ वर्षीया सुमन समेत घाइते भएका छन् ।निधार र हातमा चोट लागेको मदनको विराटनगरमा उपचार भइरहेको छ भने ढाडमा र खुट्टामा चोट लागेको सुमनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।
अनुहारमा चोट लागेको किसुन यादवकी पत्नी पचिया यादवको राजविराजस्थित गजेन्द्रनारयण सिंह अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक सिंहले जग्गाको बिषयमा विवाद भएर कुटपिट भएको र कुटपिटमा संलग्नहरुको खोजतलास भइरहेको बताए । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।