क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा बिरामी व्यवस्थापनको लागि ‘टोकन’ प्रणाली सुरु गरिएको छ । अस्पताल परिसरभित्र बुधबार एक कार्यक्रम बिच सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले टोकन मेसिनको उद्घाटन गरेका हुन् ।
अस्पतालमा आउने सेवाग्राहीको व्यवस्थापन गर्न टोकन प्रणाली सुरु गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा. प्रकाश साहले जानकारी दिए । ‘ओपिडीसहित सबै ठाउँमा चिकित्सकलाई देखाउन पुर्जीको भिडभाड हुने गरेको थियो,’ डा. साहले भने ‘टोकन प्रणाली लागू भएपछि अस्पताल आउने सेवाग्राहीलाई अब घन्टाैँसम्म लाइनमा बसेर सास्ती हुनेछैन।’
ओपिडी सहित सबै ठाउँको लागि टोकन प्रणाली लागू गरिएको मेसु साहले बताए ।
टोकन प्रणालीलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारीसमेत सहजीकरणमा खटिने उनले बताए। गजेन्द्रनारायण अस्पतालमा दैनिक ५ सयदेखि ८ सयजना सेवाग्राहीले ओपिडीमा सेवा लिने गरेको अस्पताल प्रशासनले जनाएको छ।