क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक विज्ञप्ति जारी गर्दै बुधबार नगरप्रमुख गुप्ताविरुद्ध घूस लिएको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको जनाएको छ । आरोप पत्र दायर गरेसँगै नगर प्रमुख गुप्ता निलम्बित भएका हुन् ।
नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनयर रामचन्द्र साहबीच आपसी मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनाका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घूस लिएको पुष्टि हुन आएकोले नगरप्रमुख गुप्ता र इन्जिनयर साहमाथि विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उप दफा (१) को कसुरमा आरोप पत्र दायर गरिएको अख्तियार अनुसन्धान आयोगको प्रवक्ता भोला दाहालले जानकारी दिए । उनीहरूमाथि एक लाख ४० हजार विगो कायम गरिएको छ ।
गत माघ ३ गते इन्जिनियर साहलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले एक लाख ४० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । त्यसपछि अनुसन्धान गर्ने क्रममा नगर प्रमुख गुप्ताको पनि संलग्नता पाइएको अख्तियारले जनाएको छ ।