क्रान्ति केन्द्र सम्वाददाता
जिल्ला प्रशासन कार्यालय सप्तरीले नागरिकतामा केरमेट गरेका २ जनालाई कारबाही गरेको छ ।
सोमबार राजविराज नगरपालिका-१२का सत्यनारायण यादवलाई र फागुन २ गते शम्भुनाथ नगरपालिका-२का भुलकु खंगलाई कारबाही गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आएका उनीहरुको नागरिकतामा केरमेट गरिएको पाइएपछि नेपाली नागरिकता ऐन २०६३को दफा २१को उपदफा ४ बमोजिम कारबाही गरिएको मुद्दा फाँटको नायब सुब्बा अजय कुमार मण्डलले जानकारी दिए । उनका अनुसार जन्ममितिमा केरमेट गरिएको थियो । उनीहरूलाई एक/एक हजार रुपैयाँ जरिवाना गरिएको उनले बताए ।
उक्त ऐनमा ‘कसैले सक्कल नागरिकताको प्रमाणपत्रमा भएको विवरणमा आफूखुशी थपघट गरेमा वा सच्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा दश हजार रुपैयाँ सम्म जरिबाना वा दुवैसजाय हुनेछ ।’ लेखिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा रहेको अभिलेख हेरेर नियमानुसार उनीहरूलाई नागरिकताको प्रतिलिपि दिइने कार्यालयले जनाएको छ ।