श्रवण वत्स
सप्तरी-२ बाट निर्वाचित प्रतिनिधि सभा सांसद जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले राजविराज नगरपालिका–१५ देउरी भरुवास्थित ठप्प अवस्थामा रहेको कोल्डस्टोरको आइतबार निरीक्षण गरेको छ ।
सांसद डा. राउतको पहलमा गत शुक्रबारदेखी सुरु गरेको दलान दलीय कार्यक्रमलाई निरन्तर दिँदै आइतबार तेश्रो दिन आफ्ना क्षेत्रका जनतासँग प्रत्येक्ष भेटघाट गरी समस्याहरुबारे जानकारी लिँदै आएका छन्।
सो अवसरमा नगरपालिका–१५ देउरी भरुवाका जनताहरुसँग भेट गरी समस्याबारे बुझ्दा करोडौँको लगानीमा निर्माण भईरहेको कोल्ड स्टोर दुई बर्ष देखी काम ठप्प रहेको बारेमा त्यहाँका जनताहरुले सांसद डा. राउतलाई जानकारी गराएका थिए । डा. सांसद राउतले त्यहाँ स्वयं उपस्थित भई सो कोल्ड स्टोरको निरीक्षण गरेको थियो ।
२०७५ पुस १६ गते आशिष ओम साई राम जेभी सातदोबाटो ललितपुरले निर्माण गर्ने उक्त कामको ठेक्का पाएका थिए ।
२५ करोड ४४ लाख ४३ हजार ९ सय ५९ रुपैयाँमा ठेक्का पाएर कम्पनीले निर्माण कार्य सुरु समेत गरेको थियो । तर, संघ र प्रदेश सरकार तथा जिल्ला सहकारी संघले ठेक्का कम्पनीलाई समयमा भुक्तानी नदिँदा सो काम दुई बर्षदेखी ठप्प अवस्थामा रहेको छ ।
समझौताअनुसार दुई वर्ष (२०७७ जेष्ठ १८ गते)मा कोल्ड स्टोर निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, तीन वटै पक्षले भुक्तानी दिन आलटाल गरिरहँदा निर्माण कार्य पूरा हुन नसकेको आशिष ओम साई राम जेभी कम्पनीले बारम्बार भन्दै आएको छ ।
सो क्रममा जनमत पार्टी सप्तरी क्षेत्र–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य तथा मधेश प्रदेशका शिक्षा, वाणिज्य, आपुर्ति तथा विज्ञान प्राविधि मन्त्री महेश कुमार यादव, जनमत पार्टीका जिल्ला ईन्चार्ज ममता झा, युवा नेता मुकेश कुमार यादव, पार्टीका जिल्ला, नगरपालिका र गाउँपालिका नेता लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।