क्रान्ति केन्द्र सम्वाददाता
एम्बुलेन्स घरसम्म पुग्न नसक्दा एक महिलाको ज्यान गएको छ ।
साँघुरो बाटोको कारण एम्बुलेन्स पुग्न नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका- ७ मंसापुरकी ४५ वर्षीय सुनिता देवी सरदारको ज्यान गएको हो ।
स्थानीय बैधनाथ मण्डलले जबरजस्ती बाटो बन्द गरेकोले एम्बुलेन्स घर सम्न पुग्न नसकेपछि बुधबार बिहान् ३ बजेतिर उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।
‘चार महिना अघि धरानको अस्पतालमा उनको जन्डिसका कारण लिभरको शल्यक्रिया भएको थियो,’ उनको ससुरा शुकराती सदाले भने ‘हिजो राति अचानक पेट दुख्न थाल्यो, अस्पताल पुर्याउन खोजेको थिएँ, तर एम्बुलेन्स घर सम्म नआएकाले ढिलो हुँदा यो घटना भयो ।’
गत शनिबार देखि बन्द बाटो खुलाउन वडा अध्यक्षलाई पटकपटक गुहार गरेपनि उनले चासो नलिएको सदाको भनाई छ ।
विवादका कारण उक्त बाटो बन्द गरिएकाले बिरामी ओसारमा कठिनाइ भएर घटना भएको कोइलाडी बरसाइन प्रहरी चौकीका इन्चार्ज रमेश सिंहले बताए । पछि उनकै नेतृत्वको प्रहरी टोलीले उक्त बाटो बिहान खुलाएको उनले जानकारी दिए ।