क्रान्ति केन्द्र सम्वाददाता
तिलाठी कोइलाडी गाउँपालिकाले प्रधानाध्यापक तथा विपद् सम्पर्क शिक्षकका लागि दुई दिने तालिम सञ्चालन गरेको छ ।
सामुदायिक विद्यालयले बनाउने गरेको विद्यालय सुधार योजनामा विपद् ब्यवस्थापनका सवालहरुलाई प्रभावकारी रुपमा समावेश गर्न तालिम सञ्चालन गरिएको हो ।
सामुदायिक विद्यालयहरुले पाँच बर्षको योजनासहित बनाउने गरेको विद्यालय सुधार योजनामा विपद् ब्यवस्थापनका योजनाहरुलाई समेत समेट्नु पर्ने भएकोले प्रधानाध्यापक तथा विपद् सम्पर्क शिक्षकको लागि बुधबारदेखि दुई दिने तालिमको आयोजना गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् ।
युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा सो तालिममा विद्यालय सुधार योजना निर्माण सम्बन्धी दक्षता अभिवृद्धि गर्ने, विपद्का सवालहरुको प्रभावकारी रुपमा सम्बोधन गरी समाधानका उपायहरु पहिल्याउने, विद्यालयमा रहेको विपद्को सम्भावित जोखिमहरुको पहिचान गर्ने तथा विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने गरी प्रभावकारी योजना निर्माण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको विपद् ब्यवस्थापन अधिकृत झाको कथन छ ।
सो तालिममा गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सुरुङ्गा नगरपालिकाका शिक्षा शाखाका भोगेन्द्र कुमार यादव, युनिसेफका नथुनी मोचीले सहजीकरण गर्ने बताइएको छ । सो अवसरमा युनिसेफका मेघराज मगरले सामाजिक ब्यवहार परिवर्तन परिवर्तन सम्बन्धमा सहजीकरण गरेका थिए ।

गाउँपालिकाका १७ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विपद् सम्पर्क शिक्षकहरुको सहभागिता रहेको सो तालिम जनता मावि तोपामा सञ्चालन गरिएको छ ।














