क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बालबालिकाहरुका लागि विपद् जोखिम न्युनीकरण तथा जलवायु परिवर्तन सम्बन्धी दुई दिने तालिम शुक्रबारदेखि सञ्चालन गरिएको छ ।
युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा सो तालिमको आयोजना गरिएको हो ।
बालवालिकाहरुले स्वयं आफैले जोखिम पहिचान गर्न, विश्लेषण गर्न, योजना वनाई कार्यान्वयन गर्न र जोखिम न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा बाालबालिकाहरुले आफनो ज्ञान, सीपको प्रयोग गरेर प्रौढहरुसंगै सुरक्षित र उत्थानशील समुदाय बनाउन योगदान दिन सक्षम बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले बताए ।
कुनैपनि खालको विपदमा सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेको तथा विपद् पश्चात बालबालिकाले आफ्नो बाल अधिकारको उपयोग तथा उपभोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्था उत्पन्न हुने गरेकोले बालबालिकालाई विपद्को जोखिमबाट बचाई समाजलाई उत्थानशिल बनाउन बालबालिकाको क्षमता विकास गर्न तालिमको आयोजना गरिएको विपद् ब्यवस्थापन अधिकृत झाले बताए ।
सो तालिममा गाउँपालिका स्तरीय बाल क्लब सञ्जाल तथा वडा बाल क्लबका प्रतिनिधिहरु गरी ४२ जनाको सहभागिता रहेको छ ।