क्रान्ति केन्द्र सम्वाददाता
नेपाल पत्रकार महासंघ सप्तरीले राजविराज नगरपालिकाले समाचार संकलनमा लगाएको बन्देजप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासले एक प्रेस विज्ञप्ति जारी गर्दै समाचार संकलनका लागि पत्रकारले नगरपालिकाबाट अनुमति–पत्र लिनुपर्ने कार्य आफैमा अशोभनीय रहेको बताएका छन् ।
राजविराज नगरपालिकाको कार्यालयले पत्रकार रामनाथ यादवको नाममा माघ २४ गते उपलब्ध गराएको पत्रमा विद्यालयको समाचार संकलन गर्ने क्रममा भिडियो नतान्ने, समाचार सम्प्रेषण गर्दा शिक्षा, यूवा तथा खेलकुद शाखासँग समन्वय गरी सुधारात्मक सुझावसहितको समाचार मात्र सम्प्रेषण गर्न भनिएकोप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रताको सुरक्षा गरेको सर्वविदितै छ । संवैधानिक निकाय प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचार संहिताले पनि सम्पादकीय स्वतन्त्रताको सम्मान गर्न भनेको छ । उक्त बुँदामा समाचार संकलन, सम्पादन वा उत्पादन, प्रस्तुती तथा सम्प्रेषण सम्बन्धी अन्तिम जिम्मेवारी र अधिकार सम्पादकमा निहित हुनेछ ।’ प्रेस विज्ञप्तिमा भनिएको छ ‘सम्पादकीय स्वतन्त्रताको यही सर्वमान्य सिद्धान्त बमोजिम सञ्चार माध्यम र पत्रकारले कुनै प्रकारको दवाब र प्रभावबाट मुक्त रही स्वतन्त्रतापूर्वक सूचना संकलन र समाचार, विचार तथा टिप्पणीको प्रकाशन प्रसारण गर्नुपर्दछ ।’
नगरपालिकाले यी कानुनी व्यवस्थालाई मिचेको महासंघ सप्तरीको ठहर छ ।
‘समाचार संकलन तथा प्रकाशन र प्रशारण गर्न पत्रकार स्वतन्त्र भएको विश्वब्यापी सिद्धान्त र नेपाली कानूनलाई लत्याउँदै राजविराज नगरपालिकाका शाखा अधिकृत भोगेन्द्र यादवबाट पत्रकारको नाममा जारी भएको पत्र आफैंमा अशोभनिय छ । हामी यसको घोर भत्सर्ना गर्दछौं ।’ प्रेस विज्ञप्तिमा उल्लेख छ ‘पत्रकार रामनाथ यादवले माघ २३ गते राजविराज नगरपालिका अन्तर्गतका विद्यालयहरुको समाचार संकलन गर्न पुगेको बखत विद्यालय प्रशासनले नगरपालिकाबाट अनुमति लिएर मात्र आउन भनेपछि उनले नगरपालिका कार्यालयमा बुझ्न खोज्दा त्यहाँ पनि अनुमति लिनुपर्ने भनेको जिकिरले झन स्थानीय सरकारको कर्मचारी र जनप्रतिनिधिको रवैया छर्लंग भएको छ ।’
राजविराज नगरपालिकाले स्वतन्त्र पत्रकारितालाई कुण्ठित बनाउने मनसायले गरेको यस किसिमको निर्णय सच्चयाउँदै पत्रकारलाई स्वतन्त्र तथा सहजरुपमा समाचार संकलनको वातावरण बनाउन माग रहेको महासंघले जनाएको छ ।