क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको तिलाठी कोइलाडी-०१,तिलाठीमा सरस्वती पुजाको अवसरमा आयोजित कुस्ती प्रतियोगिता हेर्न गएका सांसद चन्द्रकान्त (सीके) राउतलाई स्थानीय युवा बिट्टु मिश्रले खानेपानीको समस्या बारे अवगत गराएका छन् । कुस्ती प्रतियोगिताको तेस्रो दिन सोमबार त्यहाँ पुगेका राउतलाई एक बोतल कल(टुवेल)को पानी दिएर उनले खानेपानीको समस्या बारे अवगत गराएका हुन् ।
‘मैले यो बोतलमा पानी बिहान भरेको हुँ, यसको रंग हेर्नुस्, के यो पानी खाने सक्ने छ ? ‘ मिश्रले राउतलाई सोधे । त्यतिन्जेल पानीको रंग पहेँलो हुनलागेको मिश्रले बताए । ‘यो पानी केहीबेर राख्नुस र हेर्नुस् कस्तो हुन्छ,’ मिश्रले राउतलाई भने । सोही क्षेत्रबाट सांसदमा निर्वाचित भएका राउतको नेतृत्वको जनमत पार्टी सरकारमा खानेपानी मन्त्रालयमा रहेकोले समस्या समाधान गर्न ध्यानाकर्षण गराएका उनले बताए । तिलाठीमा खानेपानीको संरचना तयार भएपनि संचालन हुन नसकेको प्रति मिश्रले दुख व्यक्त गरे । ‘हामी आन्दोलन गर्दैनौं, यसरी नै बौद्धिक तरिकाले विरोध गर्छौं ।’ उनले भने । कल (टुवेल)को पानीमा आइरनको मात्रा अधिक भएको हुनाले खानेपानी संचालन अति आवश्यक रहेको मिश्रले बताए ।
पञ्चायत विरुद्धको आन्दोलनमा बेपत्ता पारिएका तिलाठीका साकेतचन्द्र मिश्रको नाममा भइरहेको उक्त कुस्ती प्रतियोगिताको मंचमा राउतले साकेतको तस्वीरमा माल्यार्पण समेत गरेका थिए ।
मेला घुम्ने क्रममा प्रतिनिधि सभा सांसद राउत र मधेश प्रदेश सभा सतिश कुमार सिंहले स्थानीयहरुसँग भेटघाट गरेका थिए । उनीहरू सोही वडामा रहेको गाउँपालिकाको कार्यालयमा पालिका अध्यक्षसँग समेत भेटेका थिए ।
अध्यक्ष र उनीहरुबिच पालिकामा रहेको बिभिन्न समस्याबारे छलफल भएको थियो ।