श्रवण वत्स
सप्तरीको सदरमुकाम राजविराजमा विभिन्न पार्टीले मधेशका मसिहा गजेन्द्र नारायण सिंहको २१ औं स्मृति दिवस मनाएको छ ।
मंगलबार राजविराज नगरपालिका स्थित रहेको गजेन्द्र चौकमा र राजविराज–३ स्थित रहेको सिंहको आश्रममा शालिकमा माला अपर्ण गरि २१ औं स्मृति दिवस मनाईएको हो ।
सिंहको जन्म सन् १९२९ मा सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–४ कोईलाडीमा भएको थियो । उनी आफ्ना जीवनमा संघर्ष, त्याग र लोक कल्याणका लागि विशिष्ट कार्य गरेर जन विश्वासलाई कायम राखेका थिए । मधेशीको मुद्दा लिएर पहिलो चोटी काठमाण्डौका भद्रकाली स्थित अनसनमा समेत बसेका थिए ।
सिंहले आफ्ना राजनीति नेपाली काँग्रेस पार्टीबाट सुरु गरेको थिए । पछि बहुदलीय व्यवस्था पुर्नस्थापना पश्चात् मधेशीको मुद्दा लिएर नेपाल सद्भावना पार्टीका स्थापना गरेका थिए । सिंह २०४८ र २०५१ सालमा प्रतिनिधिसभा सदस्य र २०५६ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । सिंहको वि.स. २०५८ साल माघ १० गते निधन भएको थियो । ओहि अवसरमा उनका गृह जिल्लामा विभिन्न पार्टीका नेता कार्यकर्ताहरुले उनका स्मृति दिवस शालिकमाथि फुलका माला अपर्ण गरि मनाउँदै आएका छन् ।
सिंहको स्मृति दिवसको अवसरमा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय नेता जय प्रकाश ठाकुर, ललन झा, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा, नेपाल सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष दसरथ यादव, केन्द्रीय उपाध्यक्ष रामप्रित यादव, लगायतका बिभिन्न पार्टीका केन्द्रिय, प्रदेश, जिल्ला तथा स्थानीय नेताकार्यकर्ताहरुले सिंहको शालिकमा माला अपर्ण गरेका थिए ।