क्रान्ति केन्द्र सम्वाददाता
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
हत्या आरोपमा तारेख गुजारी फरार महतोलाई पक्राउ गरी कानुनबमोजिम कारबाही अघि बढाउन गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।
दुई वर्ष पहिले २०७७ मंसिर १९ गते जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै जनकपुर उच्च अदालतले महतोलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो । उच्च अदालतको आदेशपछि तारेख लिन नपुगेका महतो हाल अदालतको फरार सूचीमा रहेका छन्।