क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको तिरुहुत गाउँपालिका-४ डिवनमा आगलागी हुँदा झण्डै १० लाख बराबरको धनमालको क्षति भएको छ । शुक्रबार दिउँसो स्थानीय हरेराम यादवको गोठ घर छेउमा राखेको खरानीको डिस्कोबाट सल्केको आगो उनको छिमेकी तेज नारायण यादव र ओम नारायण यादवको घर समेतमा आगो फैलिएको थियो ।
आगलागीबाट हरेराम यादवको १ थान बाख्रा, २ थान खसी, २ थान भैंसीको पारी जलेर मरेको प्रहरीले जनाएको छ । तेज नारायण यादवको काठको बक्सा २ थान, १० मन चामल , ५ थान पंखा,१ थान LCD TV 32” , १ थान रेडमीको मोबाईल फोन, सुन चाँदीको गहना र फर्निचरको सामान गरी ४ लाख बराबर र ओम नारायण यादवको नगद ५४ हजार ,१० मन चामल , १० मन धान भडावर्तन, लत्ताकपडा र फर्निचरको सामान गरी ४ लाख बराबरको मालसमान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले बताए । प्रहरीले तीनै जना गरी ९ लाख ५० हजारको क्षति भएको जनाएको छ ।
कंचनरुप नगरपालिका, राजविराज नगरपालिका, हनुमाननगर नगरपािलाको गरी ३ वटा दमकल, नेपाल प्रहरी र स्थानीय बासीहरुको सहयोगले करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिए ।