क्रान्ति केन्द्र सम्वाददाता
तिलाठी कोइलाडी गाउँपालिका -५ बनरझुलास्थित राजाजी आधारभूत विद्यालयका विद्यार्थीलाई विहिबार पोशाक वितरण गरिएको छ ।
बाल विकास केन्द्रदेखि कक्षा ८ सम्मका सो विद्यालयका २४६ जना बालबालिकालाई सर्ट, पाइन्ट, सुइटर र जुत्ता प्रदान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
वडा कार्यालयले विनियोजन गरेको रकमबाट पोशाक वितरण गरिएको हो । पोशाक वितरण कार्यक्रममा बोल्दै गाउँपालिकका अध्यक्ष अरुण कुमार मण्डलले गुणस्तरीय शिक्षा आफ्नो प्राथमिकता रहेकोले खस्किदै गएको शिक्षाको अवस्थालाई सुधार गर्न सबै पक्ष लाग्नुपर्ने बताए ।
बालबालिकाको शिक्षाको अवस्थामा सुधार ल्याउन अभिभावक सचेत हुनु जरुरी रहेको अध्यक्ष मण्डलले बताए ।
तिलाठी कोइलाडी गाउँपालिका- ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले शिक्षाको स्तरवृद्धिका लागि आफू लागिपरेको बताउँदै आफ्नो वडाको चार वटै विद्यालयका बालबालिकालाई प्रत्येक बर्ष पोशाक वितरण गर्ने योजना रहेको बताए ।
वडा अध्यक्ष ललन प्रसाद राउतको अध्यक्षतामा आयोजित पोशाक वितरण कार्यक्रममा वडा सदस्यद्वय राजेन्द्र प्रसाद राय र हिरालाल साहु, सत्यनारायण मुखिया, नन्द किशोर राय, देवराम शर्मा लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।