क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीमा पत्रकार आचारसंहिता, मिडिया विकास कोष र पत्रपत्रिका वर्गीकरण सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासंघ शाखा सप्तरीको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आचारसंहितको पालनाले पत्रकारिता क्षेत्र बलियो हुने बताए । ‘अचारसंहिताको पालना, निष्पक्ष र स्वच्छ पत्रकारिताले पत्रकारिता बलियो र विश्वसनीय हुनेछ,’ उनले भने ‘पत्रकारहरुको सुझावलाई लिएर अगाडि बढ्ने छौं।’
अध्यक्ष बस्नेतले मिल्दोजुल्दो मिडियाको नामको बिषयमा काउन्सिलले मापदण्ड बनाएर अगाडि बढ्ने बताए । ‘मिडियाहरु उस्ताउस्तै देखिने नामको मिडिया हाउस सञ्चालनमा छ, नाममा एकदुई शब्द फरक छ, यसले पाठकमा भ्रम फैलाउने गरिएको छ,’ उनले भने ‘यस बिषयमा मापदण्ड बनाएर काउन्सिल अगाडि बढ्ने छ ।’ उनले अनलाईन संचार माध्यमलाई पनि बर्गीकरण गर्ने विषयमा काउन्सिलले अध्ययन गरिरहेको बताए ।
उनले अहिलेको लोककल्याणकारी विज्ञापन वितरण प्रणाली परिवर्तन गर्नुपर्ने सरकारसँग माग गरे । ‘हालको लोककल्याणकारी विज्ञापन वितरण प्रणालीले सबै मिडियालाई सम्मानजनक सम्बोधन गर्न सकेको छैन्’ उनले भने, ‘विज्ञापान वितरण प्रणालीले स्थानीय मिडियाहरु सरकारी सुविधाबाट बञ्चित भएको छ, सरकारले स्थानीय मिडियामाथि अन्याय गर्नु हुँदैन,पत्रकार र पत्रकारकारिता क्षेत्रको समग्र विकासका लागि लोककल्याणकारी विज्ञापान नियमावली परिवर्तन गर्नुपर्ने आवश्यक छ ।’
आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले मिडिया क्षेत्रमा आमसंचार प्राधिकरणले पत्रकारको लागि गरेको कामहरुको बारेमा जानकारी गराउँदै पत्रकारलाई सहज रुपमा महासंघको सदस्यता प्रदान गर्नुपर्ने बताए । उनले पत्रकारहरुको सदस्यताको शुद्धिकरण समेत हुनुपर्ने बताए । ‘पत्रकारहरुलाई महासंघको सदस्यता लिन सहज बनाउनुपर्छ,’ उनले भने ‘पत्रकारिता छाडेर अन्य पेशामा रहेकाहरुको सदस्यता खारेज गर्नुपर्छ ।’
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य राम प्रसाद दाहालले पत्रकार आचारसंहिताको बारेमा बताइएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाई, पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष तथा प्रेस काउन्सिलका पुर्व सदस्य मुरली प्रसाद यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगायतकाले मन्तव्य व्यक्त गरे ।
पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य ललिता साह, निवर्तमान केन्द्रीय सदस्य अवधेश झा, बरिष्ठ पत्रकार अनिल अनल, गणेशलाल देव लगायतका विभिन्न संचार माध्यमसँग आवद्ध रहेका पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रम संचालन शाखाका सचिव राम नारायण विश्वास र प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भवेन्द्र भुसालले गरेका थिए भन्ने स्वागत मन्तव्य शाखाका उपाध्यक्ष बैद्यनाथ यादवले दिएका थिए ।