क्रान्तिकेन्द्र सम्वाददाता
मधेश प्रदेशका नव मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त भएको छ । बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री पदमा यादवलाई नियुक्त गरेका छन् ।
यादवले ६३ जना प्रदेशसभा सदस्यको समर्थन सहितको पत्र बुझाएपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । उनलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) बाहेकका सबै दलले समर्थन गरेका छन् ।
हाल प्रदेशसभामा १०७ सदस्य रहेको मधेस प्रदेशमा सरकार गठनको लागि ५४ जना प्रदेशसभा सदस्यको समर्थनको आवश्यकता थियो । उनलाई नेकपा (एमाले)का २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र)का ७, राप्रपाका १, नागरिक उन्मुक्ति पार्टीका १, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंहले समर्थन गरेका हुन् । प्रदेश प्रमुख मिश्रले पौष २८ गते बिहीबार ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी गर्ने समय दिएका थिए ।
यादव गत मंसिर ४ गते प्रदेशसभाको चुनावमा बारा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नागेन्द्र प्रसाद कानुलाई ४ हजार ८ सय ८७ मतको अन्तरले पराजीत गरेका थिए । यादबको पक्षमा कुल मत १५ हजार ४ सय २७ मत प्राप्त भएको थियो, भने काँग्रेस नेता कानुको पक्षमा ११ हजार ४० मत मात्र प्राप्त भएको थियो ।