क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा चिसोबाट जोगिन ठाउँठाउँमा आगो ताप्ने व्यवस्थाका साथै विपन्न परिवारहरुलाई सिरक समेत वितरण गरेका छन ।
पुष महिनाको सुरु देखि सप्तरी लगायत तराईमा अत्यधिक चिसोसँगै बाक्लो हुस्सु लाग्ने गर्छन । त्यसबाट जोगिनको लागि आईतबार प्रजिअको नेतृत्वमा राजविराज नगरापालिका लगायत मुख्य बजार चौक तथा दलित विपन्न वस्तीहरुमा आगो ताप्नको लागि दाउराको साथै दलित वस्तीहरुमा सिरक समेत वितरण गरिएको छ ।
टोलीले राजविराज नगरपालिका सहितका मुख्य बजार चौक, गजेन्द्र नारायण सिंह अस्पताल तथा दलित विपन्न वस्तीहरुमा पुगेर दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको तथा न्यानो कपडा वितरण गरेको छ ।
त्यस्तै, प्रजिअ थापाले राजविराज–९ स्थित मुसहर वस्तीका २० परिवारलाई सिरक वितरण गरेका छन् । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेतृत्वको टोलीमा बरख गण राजविराजका प्रमुख सेनानी दुर्गा बहादुर थापा, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तिर्थराज पौडेल, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख जिल्ला वन अधिकृत हेमन्त प्रसाद साह लगायतका व्यक्तिहरुको उपस्थित रहेका थिए ।