क्रान्तिकेन्द्र सम्वाददाता
सप्तरीको डाकनेश्वरी नगरपालिका २ का वडाध्यक्ष रहमान मियाँ पुर्पक्षका लागि आइतबार कारागार चलान भएका छन । जिल्ला अदालत सप्तरीको आदेशमा वडाध्यक्ष मियाँ आइतबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
वडाध्यक्ष मियाँ सहित २१ जनाले मिलीभगत गरी सामाजिक सुरक्षा भत्ता अपचलन गरेको प्रहरीको दाबी छ । भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरी एउटै व्यक्तिको नाममा दुईटा नागरिकता नम्बर प्रचलनमा ल्याई सामाजिक सुरक्षा भत्ता निकासा गरी ८३ लाखभन्दा बढी हिनामिना गरेको आरोपमा सप्तरी प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा जाहेरी दर्ता दायर गरेको थियो ।
०७७ असोज २२ मा जाहेरी दर्ता गरी मुद्दाको प्रक्रिया अघि बढाएको भए पनि वडाध्यक्ष मियाँ फरार सुचीमै रहँदै गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पुन: उम्मेदवार भई वडाध्यक्षमा विजयी भएका थिए । पुस २१ गते प्रहरीले नियन्त्रणमा लिएका वडाध्यक्ष मियाँलाई शुक्रबार अदालतमा पेस गरिएको थियो । बिचमा शनिबार परेकाले समयाअभावले बहस हुन नसकेपछि आइतबार भएको थुनछेकको बहसपछि अदालतको आदेशमा वडाध्यक्ष मियाँलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले बताए ।