प्रवेश कुमार बाबुल
सप्तरीको दक्षिण भेगमा रहेको कुनौली नाकालाई सदरमुकाम राजविराजसँग जोड्ने कालोपत्रे सडक निर्माणको एक बर्ष नबित्दै भत्किन लागेको छ । तिलाठीकोइलाडी-०१ बेल्हीस्थित राजविराज भंसार कार्यालय नजिक उक्त सडक भत्किएको छ । गुणस्तरहिन काम गरेकोले एक बर्ष नबित्दै सडक भत्किन थालेको स्थानीय बताउँछन् ।
‘गुणस्तरहिन काम गरेको छ, सुरुमा काम पनि सुस्त गतिमा नै बढीरहेको थियो,’ एकजना स्थानीयले भने ‘मनोमानी तरिकाले काम गर्दा निर्माण पुरा भएको एकबर्ष पनि भएन तर सडक भत्किन थालेको छ।’
सप्तरीकै प्रमुख नाकाको रूपमा रहेको कुनौली नाका सधैं सडकको कारण विकासमा पछाडि परेको स्थानीयहरु बताउँछन् । लामो समयको पर्खाइ पछि सडक निर्माण हुँदा स्थानीय बासिन्दा तथा व्यापारीहरुको मनमा आशाको किरण आएको उनीहरूले बताए । तर, सडक भत्किन थाल्दा आशा पुनः निराशामा परिणत हुँदै गइरहेको उनीहरुको भनाई छ। ‘लामो समयदेखि सडक निर्माण अलपत्र हुँदा नाकाको उन्नति हुन सकेको छैन्,’ एकजना स्थानीय व्यपारीले भने ‘अहिले सडक कालोपत्रे हुँदा व्यपार बढ्ने, स्थानीय बासिन्दालाई रोजगारको अवसर प्राप्त हुने भने आशा उत्पन्न भएको थियो, तर सडक भत्किन लाग्दा आशा पुनः निराशामा परिणत हुनथालेको छ ।’
सडक राम्ररी निर्माण भए स्थानीय बासिन्दालाई रोजगारको निक अवसर हुने स्थानीयहरुको भनाई छ । ‘सडक निर्माण राम्ररी हुँदा उक्त नाकाबाट मालबाहक गाडी गुड्ने थियो,’ एकजना स्थानीयले भने ‘जसले नाकाको आर्थिक आम्दानी बढ्थ्यो र स्थानीय दर्जनौं गाउँका बासिन्दालाई रोजगारको अवसर प्रदान गर्थ्यो ।’
कुल १० किलोमिटर लामो उक्त सडक हुलाकी राजमार्ग आयोजना इटहरीमार्फत कान्छाराम कन्सट्रक्सनले निर्माण गरेको छ । उक्त सडक निर्माणमा राज्यले जति बजेट खर्च गरेपनि काम भन्ने गुणस्तरहिन नै भएको स्थानीयहरुको आरोप छ ।राज्यले ठेकेदारहरुमाथि निगरानी नगर्दा राजश्व खेर गइरहेको उनीहरुको भनाई छ ।