क्रान्ति केन्द्र सम्वाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिनुभएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण त्यही अनुसार मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहीवार वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आम नागरिकलाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिनुभएको हो । आपूर्ति सचिव नेपाल आयल निगमको अध्यक्ष रहने व्यवस्था छ । निगमको पछिल्लो विवरण अनुसार १५ दिनमा ९९ करोड रुपैयाँ नाफा हुने देखिएको छ ।
निगमले १८ अर्ब रुपैयाँ बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार भएको छैन । चौतर्फीरूपमा मूल्य घटाउन निगमलाई दबाब परे पनि अस्वीकार गर्दै आएको छ । लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनु परेको हो ।