श्रवण वत्स
चिसोले सप्तरी लगायत तराई मधेशका जिल्लाहरुमा जनजीवन कष्टकर बनेको छ । पौष लागेदेखी सुरु भएको चिसो हावले बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको छ । पुसको दिन बढ्दै जाँदा चिसो पनि उत्कर्षमा पुग्न लागेको छ । यदपी स्थानीय सरकार लगायतका निकाय भन्ने यसमा सुस्त देखिएको छ ।
कहिलेकाँही दिउँसोको समयमा अलिअलि घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्याधिक चिसो लाग्ने गरेको छ । घाम नलागेपछि मान्छे लगायत पशुपंक्षीहरुको समेत जीवन कष्टकर बनेको छ ।
चिसो बढेसँगै बाक्लो हुस्सु र कुहिरो लागेपछि गाडी चलाउन समेत गाह्रो हुदैँआएको तिलाठी कोईलाडी गाउँपालिका–१ तिलाठी निवासी ललन झा बताउँछन । ‘बिहान हरेक दिन मलाई राजविराज पुग्नुपर्छ तर बाक्लो हुस्सु र कुहिरोले गर्दा गाडी चलाउन धेरै नै गाह्रो पर्दछ । गाउँदेखी राजविराजसम्म गाडीको अगाडीको हेडलाईट बालेर हिड्नु पर्छ ।’ उनले भने ‘घरबाट जति बाक्लो कपडा लगाएर निष्कदा बाटोमा आउँदा कम नै पर्छ । बाटोको छेउ छेउमा आगो समेत ताप्नु पर्छ, गाडीको हेण्डल समाउँदा हाथै काम गर्दैन आगो एक छिन तापेपछि मात्रै अगाडी बढने गर्छु ।’ बढेको चिसोले सप्तरीका कति स्कुलहरु समेत केही दिनका लागि बन्द गर्न लागेको छ ।
चिसोले गर्दा बिपन्न बर्गलाई सबभन्दा बढी समस्या हुने गरेको छ । आर्थिक अभावले कपडा किन्न नसक्ने वर्गको लागि चिसो काल नै बनेर आउने गरेको बुद्धिजिवीहरुको भनाई छ । ‘हुन त चिसोले सबैको जिवन कष्टकर बन्छ तर गरिबको लागि त चिसो काल नै बनेर आउने गर्छ,’ एकजना बुद्धिजिवीले भने ‘न्यानो कपडा, कम्बलको अभावमा कतिले ज्यान गुमाउने गरेको छ ।’
चिसो प्रत्येक वर्ष आउने भएपनि सरोकारवालाले समयमा यसको लागि तयार नहुँदा कठ्याङ्ग्रिएर ज्यान समेत जाने गर्दछन् । ‘चिसो बढ्दै गएको छ तर जिम्मेवार निकाय भने सुस्त छ,’ एकजना स्थानीयले भने ‘स्थानीय सरकार लगायतका निकायले कुनै पनि कदम चालेको छैन् ।’ उनले निकायहरुले समयमा काम नगर्दा बिपन्न चिसो मै मर्न बाध्य भएका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले चिसो छल्न जिल्ला विपद व्यवस्थापन समितिको अहिले कुनै कार्यक्रम नरहेको बताए । ‘मन्त्रालयबाट त्यस्तो कुनै किसिमको औपचारीक निर्देशनहरु आएको छैन, पौष २१ गते हाम्रो विपद व्यवस्थापनको बैठक हुन्छ, त्यसपछि के कस्तो निर्णायहरु हुन्छ, त्यसकै आधारमा हामी अगाडी बढने हो, अहिले त्यस्तो कुनै कार्यक्रमहरु छैन ।’