श्रवण वत्स
यस बर्षको दशैं सकाएर सप्तरीको कञ्चनरुप नगरपालिका- २ बरमझियाबाट लखन राम सहितकोलाई भारतको पंजाब लगिएका थिए । सोही पालिकाका इन्द्रजित यादव र लक्ष्मी दास नामको ठेकेदारले उनीहरुलाई त्यहाँ लगेर पंजाबको पटियाला स्थित मितल राईस शेल कम्पनीमा मजदुरी गर्न लगाएका थिए । तर, पैसा कमाउन गएका लखन राम मंगलबार लास बनेर घर फर्के ।
उनीसँगै काम गर्न गएका मध्ये दुई जना नरेश राम र देवसुन्दर राम मोची उनको लास लिएर घर आए । ठेकेदारले ८ घण्टा काम गर्ने सर्तमा लगिए पनि उता १८ घण्टा सम्म काम गराउने गरेको उनीहरुले सुनाए ।
१८ घण्टा काम गर्न नमान्दा लखनलाई ठेकेदारले कुटपिट गरेको नरेशले बताए । ‘काम गर्न सक्दिन भने पछि ठेकेदार इन्द्रजितले एउटा रुममा बन्द गरेर कुटपिट गरेको थियो र खान पनि एक छाक मात्र दिन्थियो’ उनले भने ‘१८ घण्टा काम गर्छु भने सर्तमा उनलाई बिहिवार ठेकेदारले कोठाबाट निकाल्यो, उनी शनिबार काम गरेर सुत्दा आइतवार बिहान मृत अवस्थामा थिए।’
लखनको बुहारी शान्ती देवी रामले केही दिन अगाडी ससुराले फोन गर्दा धेरै काम गराउदै छ भनेर भनेको सुनाईन् । उनले ससुराले घर फर्केर आए फेरी कहिले त्यहाँ नजाने भनेको सम्झिन्छिन् ।
काम छाडेर भाग्न प्रयास गरेकोमा ठेकेदारले कुटपिट गरी जबरजस्ती समातेर काम गराउने गरेको देबसुन्दर राम मोचीले बताए । उनीसँगै गएका तीन जना अझै पनि त्यहाँ बन्दीमा रहेको मोचीले बताए । ‘हामी दुई जना त मृतकलाई लिएर घर आउन पाए ।’ उनले भने ‘रहिम सेख, किशोरी राम, निराज सेख अझै पनि त्यहाँ बन्दीमा छन् ।’ त्यही कम्पनीमा नेपालका धेरै जना यसरी नै दुख भोगिरहेको उनले बताए ।
किशोरी रामका श्रीमती करयाही देवी रामले श्रीमानलाई घर ल्याई दिन गुहार गर्छिन् । रहीमको आमा हैजमुन खातुनले रुवावासी गर्दै छोरालाई घर पुर्याइदिन आग्रह गर्छिन् ।