क्रान्ति केन्द्र सम्वाददाता
मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएका छन् । मधेश प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेश सांसद छन् । माओवादी केन्द्रका रजिहैदर र माला कर्णले सपथ लिन पाएनन् । क्लस्टर विवादको कारण सर्वोच्च अदालतले दुबैजनालाई तत्काल शपथ नगराउन आदेश दिएकोले तिनीहरुलाई नगराइएको प्रदेश सभा सचिव रञ्जित यादवले बताए । दुबैजना समानुपातिक सांसद हुन् । १० वटा दल र ५ स्वतन्त्र सांसदको प्रतिनिधित्व प्रदेशसभामा छ ।
प्रदेशसभामा नेकपा एमाले २३ सांसद सहित पहिलो दल बनेका छन भने त्यस्तै नेपाली काँग्रेसका २२ सांसद सहित दोश्रो र जनता समाजवादी पार्टी नेपाल (जसपा)का १६ सांसद सहित तेश्रो र जनमत पार्टीका १३ सांसद सहित चौथो दल हो ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र माओवादी केन्द्रका ९/९ सांसद र एकीकृत समाजवादीको ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १/१ जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।