क्रान्ति केन्द्र सम्वाददाता
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, सप्तरी शाखाका सदस्य एवं कान्तिपुर दैनिकका उपसम्पादक अवधेशकुमार झालाई समाजिक सञ्जाल ‘फेसबुक’मार्फत ज्यान मार्ने धम्की दिएका स्थानीय नसरुल राजाले माफी मागेका छन् ।
बुधबार नेपाल पत्रकार महासंघ सप्तरीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो ।
‘राजविराज नगरपालिकाको कार्यालयमा देखिएको बेतिथि सम्बन्धी समाचार लेखेको विषयलाई लिएर पत्रकार झामाथि धम्की दिने ब्यक्तिमाथि कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत गएको पुस १२ गतेसम्म निरन्तरता रह्यो ।’ विज्ञप्तिमा उल्लेख छ ‘सोही क्रममा २०७९ पुस १२ गते मंगलवार नै जिल्ला प्रहरी कार्यालय सप्तरीले आरोपी नसरुल राजालाई हिरासतमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाएको अवस्थामा स्थानीय अगुवाहरुबाट एक पटककालागि माफी दिने महासंघसित गरेको आग्रह बमोजिम जिल्ला प्रहरी कार्यालयमा छलफल आयोजना गरियो ।’
‘छलफलको क्रममा आफूले फेसबुकमा लेख्दा पनि यस्तो कानूनी कारबाही हुनसक्छ भनी ज्ञान नभएको र आईन्दा पत्रकारको सम्बन्धमा यस्तो नलेख्ने भनि आरोपी नसरुल राजाले माफी माग्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा कागजी कानूनी प्रक्रिया पूरा गरेपछि सहमतीमै उनलाई रिहा गरिएको हो ।’ विज्ञप्तिमा भनिएको छ ‘उक्त छलफलमा नसरुल राजाको तर्फबाट अधिवक्ता मोहम्मद समिम, नेपाल पत्रकार महासंघबाट अध्यक्ष श्रवणकुमार देव, पूर्व अध्यक्ष जितेन्द्र खड्गा, पीडित पत्रकार अवधेशकुमार झासहितका सहभागी थियो भने जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले र डीएसपी नरेश सिंहको उपस्थिती थियो ।’
यो सहमती पश्चात नेपाल पत्रकार महासंघ शाखा सप्तरीले थालेको आन्दोलनको कार्यक्रम पनि फिर्ता भएको विज्ञप्ती मार्फत जानकारी समेत गराएको छ । आन्दोलनमा सहयोग गर्ने सम्पूर्ण पत्रकार, प्रमुख जिल्ला अधिकारी, सप्तरीका प्रहरी प्रमुखसहित सबैमा महासंघले धन्यवाद् ब्यक्त गरेको छ । आगामी दिनमा पनि पत्रकारले लेखेको समाचारको विषयमा कसैलाई कुनै आपत्ती भए पत्रकारमाथि ‘गालीग्लौज गर्ने’, ‘धम्की दिने’ जस्ता अपराधिक बाटो नरोजी कानूनी बाटो रोज्न पत्रकार महासंघले आग्रह गरेको छ ।