क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको सदरमुकाम राजविराजमा मिटर ब्याजी पीडितहरुले प्रदर्शनसँगै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । आज सोमबार मिटर ब्याज बिरुद्ध संघर्ष समितिले राजविराजमा नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि मिटर ब्याजीलाई कारबाही गर, फर्जी तमसुक खारेज गर , पिडितलाई न्याय देउ जस्ता नारा लगाएका छन् ।
उनीहरूले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री, गृहमन्त्री, मधेश प्रदेश मुख्य मन्त्री, मधेश प्रदेश गृहमन्त्री, जिल्ला अदालत राजविराज, जिल्ला प्रशासन सप्तरी, जिल्ला प्रहरी सप्तरीको कार्यालयलाई पत्र बुझाएका हुन् ।
मिटर ब्याजीबाट पीडितहरु अहिले घर छाडेर भाग्न तथा आत्महत्या गर्न बाध्य भएको भन्दै रक्षाको लागि प्रधानमन्त्री लगायत देशका विभिन्न निकायसँग ‘मिटर ब्याज बिरुद्ध संघर्ष समिति’ले आग्रह गरेको छ ।
समितिका सचिव छेदीलाल पासवानले एक बर्ष देखी सरकारसँग गुहार गरिरहँदा पनि पिडितहरुले न्याय नपाएको बताए । ‘एक बर्ष देखी प्रहरी प्रशासन र सरकारलाई आग्रह गरिरहेको छुँ, तर अहिले सम्म न्याय पाउन सकेको छैनौं ।’ उनले भने ‘फर्जी तमसुक खारेज गर्न र मिटर ब्याजी पिडितलाई न्याय दिन हाम्रो माग रहेको छ ।’