प्रवेश कुमार बाबुल
राजविराज नगरपालिकामा निर्माणाधीन हटिया फोहरमय बन्दै गएको छ । हटियामा फालिएको फोहर व्यवस्थापन नगर्दा निर्माणाधिन हटिया फोहरले भरिएको देखिन्छ । निर्माण थालिएको पाँच बर्ष पुरा हुन लागेपनि काम पुरा नहुँदा र फोहरमैलाको दुर्गन्धले हटियामा पसल गर्नेहरु लामो समयदेखि सास्ती खेप्नन् बाध्य रहेका छन् । त्यसमा पनि अलपत्र रहेको हटियामा फोहरमैलाले सो क्षेत्र दुर्गन्धित भएको स्थानीय व्यावसायी सबिन चौधरीको बताए ।
‘निर्माणाधिन हटियाको कोठाहरुमा दिशा पिसाब गरिएको छ, फोहरमैलाले हटिया एकदमै दुर्गन्धित बनेको छ ।’ उनले भने ‘हटिया पुरा नहुँदा साना व्यावसायीहरु बाटोमा पसल थाप्न बाध्य छन्, यहाँबाट हिड्न समेत गार्हो हुन्छ ।’
हटियामा सरसफाईको कमीले सो क्षेत्रमा अत्याधिक लामखुट्टे बढेको हटियमा व्यवसाय गर्ने राकेश दाशले बताए । ‘सरसफाई छैन्, लामखुट्टेले त ज्यानै लिने भएको छ।’ उनले भने ‘लामो समयदेखि लामखुट्टे मार्ने औषधि पनि छर्केको छैन्, एकदमै फोहरमा बस्नुपर्ने बाध्यता बनेको छ।’ नगरपालिकाले हटियाको सरसफाईमा खास चासो नदेखाउँदा उनीहरू दुर्गन्धमै बस्न बाध्य भएको गुनासो गरे ।
हटिया तयार नभएकोले सडकमा पसल थाप्दा सधैं मनमा डर लागिरहेको सडकमा पसल थापेका रामनाथ महतोले सुनाए । ‘घरबाट समान लिएर सडकमा पसल थाप्छौं , कोही आएर यता बाट उता उता बाट यता ठाउँ फेर्न भनदिन्छ ।’ उनले भने ‘पसल गर्न व्यवस्थित ठाउँ नहुँदा जिवन अस्तव्यस्त भएको छ ।’
पसल लगाए वापत दैनिकी शुल्क लिएपनि लामो समयदेखि कुनै व्यसवस्थपन नगरेको र सरसफाईमा पनि ध्यान नदिएको उनीहरूको गुनासो रहेको छ ।