क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको राजविराजमा बिहिबार मैथिली अभियानीहरुले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको पुत्ला दहन गरेका छन् ।
नवनिर्वाचित सांसद सीके राउतले मातृभाषा मधेशी भाषा भनेर सपथ लिँदा उनीहरूले आपत्ति जनाएका छन् । आईलभ मिथिला मिडिया , मिलाफ नेपाल तथा मैथिली साहित्य परिषदले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले गरेको सपथ ग्रहणमा सीके राउतले मैथिली भाषाको क्षेत्रबाट प्रतिनिधित्व गर्दागर्दै नेपालमा कहिले पनि नसुनिएको र कतै पनि उल्लेख नरहेको मधेशी भाषालाई मातृभाषा भनेर सपथ लिएको प्रति मैथिली अभियानीको ध्यानाकर्षण भएको बताएका छन् । उनीहरुले यस कार्यले मैथिली भाषीहरुको भावनामा ठेस पुर्याएको बताएका छन् ।
नेपालको कुनै पनि दस्तावेजमा मधेशी भाषाको उल्लेख नरहेकोले यस्तो क्रियाकलापले भाषीक आरजकता फैलिने उनीहरूको ठहर छ । आई लभ मिथिलाको अध्यक्ष विद्यानन्द यादव वेदर्दीले सीके राउतले दश वर्ष देखी मैथिली भाषाको अपमान गर्दै आएको बताएका छन् । ‘सीके राउत दश वर्ष देखी मैथिली भाषालाई अर्कोको कोखबाट जन्मेको नजाईज भाषा भन्दै आएका छन्’, उनले भने ‘ सधैं मैथिली भाषाको अपमान गर्दै आएको राउतले आज पुनः कतै उल्लेख नरहेको मधेशी भाषामा सपथ लिइ मैथिलीको अपमान गरेका छन् ।’ उनले मधेशी भाषामा सपथ एउटा भाषीक षड्यन्त्र रहेको बताए ।
मधेशी भाषामा सपथ लिएकाहरुको सपथलाई अवैध ठहर गरी पुनः सपथ लिन लगाउन उनीहरूले संसद सचिवालयसंग माग समेत गरेका छन् ।