क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको कञ्चनरूप नगरपालिकामा उपचार नपाएर विपन्न दलितको मृत्यु भएको विषयमा सो पालिका मेयर ललनप्रसाद गुप्ताले दिएको अभिव्यक्तिप्रति जिल्लाको दलित संघसंस्थाहरुले आपत्ति जनाएका छन ।
उक्त नगरपालिकाका पाँच विपन्न दलित युवाले आर्थिक अभावका कारण उपचार गर्न नसकेर ज्यान गुमाएको भनेर विभिन्न मिडियामा आएको समाचारप्रति मेयर ललनप्रसाद गुप्ताले पुष ३ गते ( आइतबार) विज्ञप्ति जारी गर्दै उनीहरूको ‘रक्सी सेवन र चेतनाको कमीले मृत्यु भएको’ बताएका थिए ।
त्यसै सन्दर्भमा सोमबार दलित संघसंस्थाहरुले विज्ञप्ति जारी गर्दै उनको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
‘कञ्चनरुप नगरपालिकाका मेयर जस्तो गरिमामय पदमा बसेका व्यक्तिको उक्त कपोकल्पित अभिव्यक्तिले नगरका १६ हजार भन्दा बढी दलित समुदायको आत्मसम्मानमा चोट पुगेको छ ।’ दलित संघ संस्थाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कञ्चनरुप नगरपालिकाको वास्तविक अवस्था चित्रण भएपछि अत्तालिएका मेयर गुप्ताको भनाई कानूनी रुपमा अप्रमाणित,नैतिक रुपमा गैर जिम्मेबार र पदीय मर्यदा बिपरीत रहेको हाम्रो ठहर छ । ’
‘मृत्यु भएकाहरुमध्ये पाँच परिवारमा कसैको पनि आफनो जमिनमा घर छैन । चार जनाको घरमा त घरको ढोका समेत टिनले बनाइएको छ ।’ विज्ञप्तीमा भनिएको छ ‘दैनिक रूपमा काम गर्ने अवसरसमेत नपाएर भोकै बस्न विवश मृतक परिवारलाई सान्त्वना दिनुको साटो नगरभरिका सम्पूर्ण दलितलाई रक्सी सेवनकर्ताको रूपमा स्थापित गर्नु सिंगो दलित समुदायप्रतिको अपमानको रूपमा हामीले लिएका छौँ ।’
मेयर गुप्ताले आत्मालोचनासहित आफ्नो अभिव्यक्ति फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने विज्ञप्ती मार्फत चेतावनी समेत दिइएको छ।