क्रान्ति केन्द्र सम्वाददाता
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले संघर्ष गर्न कार्यक्रम घोषणा गरेको छ । पत्रकारलाई ज्यान मार्ने धम्की आएपछि महासंघ शाखा सप्तरीले दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपनि प्रहरीले कानूनी प्रक्रिया अघि नबढाएकोले पुस १ गते महासंघले ४८ घण्टे अल्मिटेम जारी गरेको थियो । तर प्रहरीले अझ सम्म त्यसमा चासो नदेखाएकोले महासंघले संघर्ष कार्यक्रम घोषणा गरेको हो ।
आज(सोमबार) महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्ति मार्फत पहिलो चरणमा पुस ४ गते देखि १२ गतेसम्म गरिने संघर्षका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
विज्ञप्तिमा पुस ४ गते संघर्ष कार्यक्रम सार्वजनिक, ५ गते पीडित पत्रकारलाई न्याय र पीडकलाई कारवाहीको मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाउने, ६ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीको औपाचारिक कार्यक्रम बहिष्कार गर्ने, पुस ७ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीका प्रमुख सहभागी भएको जुनसुकै कार्यक्रम बहिष्कार गर्ने , पुस ८ गते सुर्खेतमा आयोजना हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभास्थलमा दोषीलाई कारवाही र पीडित पत्रकारलाई न्यायको मागसहितको ब्यानर प्रदर्शन गर्ने उल्लेख छ । संघर्षका कार्यक्रम हातमा कालो पट्टी बाँधेर गर्ने तय गरिएको महासंघले जनाएको छ । यस कार्यक्रमा सक्रिय सहभागीताको लागि पत्रकार महासंघ सप्तरीले आमसंचारकर्मीलाई आग्रह गरेको छ ।
पुस १२ गतेसम्म पनि मागप्रति स्थानीय प्रहरी प्रशासन गम्भिर नभए दोस्रो चरणको आन्दोलनमा जाने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ ।
पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका सप्तरी शाखाका सदस्य कान्तिपुरकर्मी अवधेशकुमार झाले दैनिक पत्रिकामा राजविराज नगरपालिका कार्यालयको ‘तोक आदेशमा कर्मचारी भर्ना’ सम्बन्धी समाचार लेखेका थिए । सोही समाचारलाई लिएर गत मंसिर १९ गते नसरुल राजा र मो. सजाद नामक फेसबुक आईडीवाट उनलाई ज्यानमार्ने धम्की आएको थियो ।