क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको राजगढ गाउँपालिका–६ स्थित मुतनी नदीमा कुरनमा र बनैनियाँ गाउँलाई जोड्न पुल निर्माण सुरु भएको एक दशक वितिसक्दा पनि काम पुरा हुनसकेको छैन् । विक्रम सम्वत २०६९ सालमा २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु भएको थियो ।
काठमाण्डौस्थित नीलगिरी कन्सट्रक्सनले कुल १ करोड ७ लाख रुपैयाँको लगानीमा निर्माण गर्न सो पुलको ठेक्का पाएको थियो । तर कम्पनीले सुरुको अहिलेसम्म दुई वटा पिलर बाहेक कुनै काम गर्न सकेको छैन् । हाल ४ वर्ष देखी कार्य अलपत्र छाडेर निर्माण कम्पनी समेत वेपत्ता भएको स्थानीले बताए । ‘तीनचार बर्ष देखी त ठेकेदारको मुख पनि हेरेको छैनौं ।’ स्थानीयहरुले सुनाए ।
नदीमा पुल नबन्दा कुरनमा, बरदाही, बनैनियाँ, मोहनपुर, फकिरा, रम्पुरा , इनर्वा, कन्कटा लगायतका दर्जनौं गाउँका आवतजावत गर्न समस्या हुँदै आएको स्थानीय रामस्वरूप मुखियाले गुनासो गरे ।
उनले बर्षायाममा ४ महिनासम्म बनैनियाँ र बरदाहीका वासिन्दालाई नजिकको बजार समेत जान नसक्ने अवस्था रहेको बताए ।
नदी नजिक रहेको जनता प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खोला वारपार गर्न सबैभन्दा बढी अप्ठ्यारो हुँदै आएको स्थानीय रामानन्द शर्माले बताए । उनले बर्षयामको तीनचार महिना बिद्यार्थीहरु विद्यालय जानबाट बञ्चित नै हुने गरेको बताए ।
स्थानीयहरुले बर्षायाममा ओहरदोहरको लागी बाँसको चचरी पुल बनाए पनि त्यसमा चल्नु खतरा पुर्ण नै रहेको हुन्छ । पटकपटक पुलको काम पुर्ण गराईदिन नेताहरुलाई आग्रह गरेपनि सबैले आश्वासन मात्र दिएको स्थानीय अमरेन्द्र यादवले बताए ।
राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले बनैनियाँ–कुरनमालाई जोड्नका लागि सो पुल अति आवश्यक रहेको बताए । त्यस क्षेत्रका जनतालाई आवतजावत गर्न कठिनाई भइरहेकोले पुलले पूर्णता पाउनुपर्ने उनले बताए । तर निर्माण कम्पनी नै सम्पर्कमा नरहेको उनले भने । उनले त्यस कार्यको लागी उनी प्रयासरत रहेको बताए ।