प्रवेश कुमार बाबुल
सिजन अनुसार धान र गहुँ सप्तरीको मुख्य बाली हो । मलको चरम अभाव खेप्दै जसोतसो धान भित्राईसकेका सप्तरीका किसानहरुले अब गहुँ खेतीको लागी तयारी थालेका छन् । तर मलको अभावले उनीहरूको मनमा त्रास उत्पन्न गरेको छ ।
‘खेत जोतेर तयार राखेका छौं ,मल अभावको डरले अहिले गहुँको बिउ छरेको छैन्,’ एकजना किसानले भने ‘धान खेती समयमा मल भेटिएन्, अहिले धानको उत्पादनले लगानी मुल्य पनि प्राप्त हुनसक्ने अवस्था छैन् ।’
धान खेतीमा खादको अभावले उब्जनी नभएर गँहुको समयमा किसानलाई फेरी त्यही समस्या उतपन्न भए लगानी समेत डुब्ने त्रास छ ।
‘समयमा खाद नभेटेर उब्जनी हुदैन्, लगानी पनि डुब्छ’ स्थानीय किसानले भने ‘गाउँपालिकाले अलिकति खाद दिन्छ , त्यसबाट त करेसाबारीमा पनि पुग्दैन् ।’
ऋण लिएर खेती गरिरहेकालाई उब्जनी नहुँदा छाक टार्न समेत गार्हो भईरहेको उनीहरुले गुनासो गरेका छन् ।
सप्तरीमा कुल ५६ हजार हेक्टर जमिनमा बिभिन्न किसिमको हिउँदे बाली लगाउने गरिन्छ । जसमा २८ हजार हेक्टरमा गहुँ खेती गर्ने गरिन्छ भने बाँकी आधामा अन्य किसिमको बाली लगाउने गरिन्छ । कृषि ज्ञान केन्द्र सप्तरीका अनुसार गहुँ खेतीको लागी मात्र जिल्लामा ६ हजार १ सय ४ मेट्रिक टन युरिया, ३ हजार ५२ मेट्रिक टन डिएपी, २ हजार ३ सय २४ मेट्रिक टन पोटासको आवश्यकता रहेको छ । तर उपलब्धको आधारमा हेर्ने हो भने सप्तरीमा अहिले सम्म १ हजार ५ सय ९६ मेट्रिक टन युरिया, ४ सय ९ मेट्रिक टन डिएपी र ८३ मेट्रिक टन पोटास मात्र उपलब्ध रहेको छ ।